काठमाडौं / सुशासन, भ्रष्टाचार नियन्त्रण र अभिव्यक्ति स्वतन्त्रताको माग राख्दै राज्यका तीनै निकायमा जेनजी आन्दोलनकारीले आगो लगाएको घटनापछि अहिले देश नेतृत्वविहीन बनेको छ। यसअघि प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिएर फरार भएका थिए भने राष्ट्रपति कहाँ छन् भन्नेबारे कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।
सरकारका सबै मन्त्री र पुराना दलका नेताहरू भूमिगत बनेका छन्। केही दिनअघि मात्र राष्ट्रपतिले सामाजिक सञ्जालमार्फत आन्दोलनकारीलाई वार्तामा आउन आग्रह गर्दै सन्देश दिएका थिए, तर त्यसयता उनी मौन छन्।
देशको सम्पूर्ण शक्ति अहिले सेनाको नियन्त्रणमा गएको छ। अन्तरिम प्रधानमन्त्री चयनका लागि सेनाले आन्दोलनकारीहरूसँग प्रत्यक्ष समन्वय गरिरहेको छ। जेनजी समूहभित्रबाट कसलाई अन्तरिम सरकारको अध्यक्ष बनाउने भन्ने विषयमा मतभेद देखिएको छ। मतभेदकै बीच आन्दोलनकारीले पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रस्ताव गरे पनि अन्तिम सहमति भने जुट्न सकेको छैन।
यसबीचमा सेनाले प्रत्यक्ष आन्दोलनमा सहभागी नभएका समाजका विभिन्न व्यक्तिहरूसँग पनि परामर्श थालेको छ। आन्दोलनको क्रममा अहिलेसम्म ३० जनाको ज्यान गइसकेको छ। देशभरको जनजीवन अझै सामान्य बन्न सकेको छैन। आन्दोलन रोकिए पनि समाजमा त्रास यथावत् छ।