सिड्नीको हवेली इन्डियन रेस्टुरेन्टमा ग्यास चुहावटका कारण नेपाली विद्यार्थी शिव खत्रीको निधन

सिड्नीको हवेली इन्डियन रेस्टुरेन्टमा ग्यास चुहावटका कारण नेपाली विद्यार्थी शिव खत्रीको निधन
नेपालआईज
१ असोज २०८२ २२:४४

सिड्नी /  न्यु साउथ वेल्सको   रिभरस्टोनस्थित हवेली इन्डियन रेस्टुरेन्ट भित्र कार्बन मोनोअक्साइड चुहावटको आशंकाबीच अचेत अवस्थामा भेटिएका २५ वर्षीय नेपाली विद्यार्थी शिव खत्रीको मृत्यु भएको छ। खत्री सो रेस्टुरेन्टमा क्लिनरका रूपमा काम गर्दै आएका थिए।

मंगलबार बिहान करिब ९:१५ बजे गारफिल्ड रोडमा अवस्थित रेस्टुरेन्टभित्र खत्री अचेत अवस्थामा भेटिएपछि आपतकालीन सेवाका टोलीलाई बोलाइएको थियो। प्रहरी र स्वास्थ्यकर्मीले उद्धार प्रयास गरे पनि उनलाई बचाउन सकेनन्।

खत्रीका दाजु मन्डिप खत्रीले शवलाई नेपाल पठाउनका लागि सहयोग संकलन अभियान सुरु गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “गहिरो दु:खका साथ भन्नुपर्छ, हिजो बिहान कार्यस्थल दुर्घटनामा मेरा भाइ शिवले जीवन गुमाए। उहाँको शवलाई नेपाल पु¥याउन हामी सहयोग संकलन गरिरहेका छौं… सानो सहयोगले पनि ठूलो फरक पार्नेछ।”

यसअघि खत्रीलाई उद्धार गर्न सीपीआर प्रयास गर्ने पाँच जना प्रहरी र रेस्टुरेन्ट माथि बस्ने एक स्थानीय व्यक्ति समेत कार्बन मोनोअक्साइड विषाक्तताका कारण अस्पताल लगिएको थियो। सबैलाई उपचारपछि डिस्चार्ज गरिएको छ।

न्यू साउथ वेल्स प्रहरीका सहायक आयुक्त ग्याभिन उडले भवनभित्र “अत्यन्त उच्च स्तरको कार्बन मोनोअक्साइड” पाइएको जानकारी दिए। त्यस्तै, फायर एन्ड रेस्क्यू NSW का सुपरिन्टेन्डेन्ट एडम ड्युवेरीले समेत विशेषज्ञ टोलीले खतरनाक स्तरको ग्यास पत्ता लगाएको पुष्टि गरेका छन्।

ग्रिनवे सांसद मिशेल रोवल्यान्डले यो घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै खत्री परिवारप्रति समवेदना प्रकट गरेकी छिन्। उनले उद्धारकर्मीहरूको प्रयासको समेत प्रशंसा गरेकी छिन्।

गत वर्ष अप्रिलमा सुरु भएको हवेली इन्डियन रेस्टुरेन्ट स्थानीय क्षेत्रमा लोकप्रिय मानिन्छ। ब्ल्याकटाउन नगर परिषद्का काउन्सिलर मोनिन्दर सिंहले रेस्टुरेन्टका मालिकलाई “विनम्र र मेहनती युवा परिवार” भनेर वर्णन गरेका छन्।

खत्रीको शव नेपाल पु¥याउन र परिवारलाई सहयोग गर्न गोफन्डमीमार्फत कोष संकलन अभियान सुरु गरिएको छ। एक स्थानीय सामुदायिक नेताले भने, “हाम्रो गहिरो समवेदना खत्री परिवार, साथीभाइ र अष्ट्रेलियामा रहेका नेपाली समुदायप्रति छ। उनको आत्माले चिरशान्ति पाओस्।”

यसैबीच, सम्बन्धित अधिकारीहरूले ग्यास चुहावटको कारणबारे थप अनुसन्धान अगाडि बढाइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर