‘जेनजी’ विद्रोहको असर न्युजिल्यान्ड जान चाहने नेपाली विद्यार्थीहरूमा नपर्ने

‘जेनजी’ विद्रोहको असर न्युजिल्यान्ड जान चाहने नेपाली विद्यार्थीहरूमा नपर्ने
नेपालआईज
२१ असोज २०८२ १०:४९

न्युजिल्यान्ड/ हालै नेपालमा भएको ‘जेनजी’ विद्रोह का कारण न्युजिल्यान्डमा अध्ययनका लागि आवेदन दिइरहेका वा अध्ययनरत नेपाली विद्यार्थीहरू प्रभावित हुन सक्ने आशंका प्रकट भएपछि, गैर आवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्यान्ड ले न्युजिल्यान्डकी आप्रवासन मन्त्री एरिका स्ट्यानफोर्ड सँग भेट गरी  सो विषयमा छलफल गरेको  अध्यक्ष डा. अच्युत अर्यालले जानकारी दिए ।

एनआरएनए न्युजिल्यान्डले नेपालमा उत्पन्न राजनीतिक घटनाक्रमका कारण विद्यार्थीहरूको भिसा प्रक्रियामा असर नपरोस् भनेर सरकारले लचक नीति अपनाउन आग्रह गरेको थियो। सोही सन्दर्भमा मन्त्री स्ट्यानफोर्डले इमिग्रेशन न्यूजिल्यान्ड (INZ) लाई प्रभावित विद्यार्थीहरूका लागि बुझाइपूर्ण र सहयोगमुखी दृष्टिकोण अपनाउन निर्देशन दिएकी छिन्।

मन्त्रीका अनुसार, INZ ले सेप्टेम्बर महिनामा नेपालमा देखिएको अस्थायी अवरोधबारे अवगत छ र त्यसको कारण विद्यार्थीहरूले आवश्यक कागजात उपलब्ध गराउन ढिलाइ भएमा उचित समयावधि विस्तारको व्यवस्था गरिनेछ। साथै, व्यक्तिगत परिस्थितिअनुसार भिसा आवेदन प्रक्रियालाई सहज बनाइने उनले स्पष्ट पारिन्।

“हामी प्रत्येक विद्यार्थीको अवस्थालाई बुझेर सहयोग गर्न तयार छौं। हाम्रो उद्देश्य उनीहरूको अध्ययन यात्रा निरन्तर रहोस् भन्ने हो,” मन्त्री स्ट्यानफोर्डले बताइन्।

एनआरएनए न्युजिल्यान्डले मन्त्री र INZ दुवैलाई नेपाली विद्यार्थी समुदायप्रतिको द्रुत प्रतिक्रिया र सहयोगका लागि आभार प्रकट गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको