मेलबर्न / भिक्टोरियाको पश्चिमी क्षेत्रमा भएको सडक दुर्घटनामा एकै परिवारका तीन नेपालीको ज्यान गएको छ। दुर्घटनामा तीन वर्षका बालक, उनका बुबा र आमाको मृत्यु भएको छ।
दुर्घटना स्टोनली क्षेत्रमा माउन्ट विलियम रोड र युरामबिन–स्ट्रिथम रोडको चोकमा मंगलबार बिहान करिब ९:३० बजे भएको हो। प्रहरीले जनाएको अनुसार, परिवार सवार कारले स्टप साइनमा नरोकी अगाडि बढ्दा विपरीत दिशाबाट आएको ट्रकले ठोक्काएको थियो।
उक्त सडक दुर्घटनामा तीन जना नेपालीको ज्यान गएको पुष्टि गर्दै भिक्टोरियास्थित नेपाली वाणिज्यदूत निराजन गौलीले भने, “मृतकका आफन्त र प्रहरीसँग समन्वय भइरहेको छ।”
दुर्घटनामा बालककी हजुरआमा गम्भीर घाइते भएकी छन्। उनी सिट पछाडिको भागमा बसेकी थिइन् र गाडीको भग्नावशेषमा फसेकी थिइन्। उनलाई उद्धार गरी मेलबर्नको द एल्फ्रेड अस्पतालमा हेलिकोप्टरमार्फत लगिएको छ, जहाँ उनको अवस्था जीवन–संघर्षपूर्ण रहेको बताइएको छ।
दुर्घटनामा ज्यान गुमाउने दम्पती क्रमशः ४१ वर्षका पुरुष र ३१ वर्षकी महिला भएको र उनीहरू जिलङ क्षेत्रमा बसोबास गर्दै आएको बुझिएको छ। मृतकका परिवारले एनआरएनए भिक्टोरिया पनि सँग समन्वय गरिरहेको संयोजक महादेव धानुकले नेपाल आइजलाई जानकारी दिए।
भिक्टोरिया प्रहरीका डिटेक्टिभ इन्स्पेक्टर क्रेग म्याकएभोयले दुर्घटनास्थललाई “भयावह दृश्य” भन्दै भने, “एक जीवन गुमाउनु पनि धेरै हो, यहाँ त एकै परिवारका तीन जना गुमाइएका छन्।”
उनका अनुसार, सो ग्रामीण सडकमा स्पष्ट रूपमा स्टप साइन र चेतावनी संकेतहरू रहेका थिए, तर ती नियमहरू पालना नगरिएको देखिन्छ।
ट्रक चालक, जो स्थानीय क्षेत्रका निवासी हुन्, स–साना चोटपटकसहित बलाराट अस्पतालमा भर्ना भएका छन्। उनी प्रहरीले गरेको सोधपुछमा पूर्ण सहयोग गरिरहेका छन्।
दुर्घटनापछि सडक क्षेत्र बन्द गरिएको र प्रहरी तथा आपतकालीन सेवाहरूले अनुसन्धान कार्य अगाडि बढाइरहेको जनाइएको छ।
यस वर्षको सुरुदेखि अहिलेसम्म भिक्टोरिया राज्यमा सडक दुर्घटनाबाट २४७ जनाको मृत्यु भइसकेको छ, जुन गत वर्षको सोही अवधिभन्दा छ जना बढी हो।
प्रहरीले दुर्घटना देख्ने सबैलाई जानकारीका लागिमा सम्पर्क गर्न आग्रह गरेको छ।