काठमाडौ / नेपाल–अष्ट्रेलिया दौत्य सम्बन्धका ६५ वर्ष पूरा काठमाडौं। नेपाल र अष्ट्रेलियाबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पूरा भएको अवसरमा नेपालस्थित अष्ट्रेलियाली दूतावासले विशेष समारोहको आयोजना गरेको छ।
उक्त कार्यक्रममा प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्की प्रमुख अतिथिका रूपमा सरिक हुनु भयो। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले दुई देशबीचको ६ दशकभन्दा लामो मैत्रीपूर्ण सम्बन्ध शिक्षा, व्यापार, विकास तथा सांस्कृतिक आदान–प्रदानमार्फत अझ गहिरिँदै आएको बताउनुभयो।
उहाँका शब्दमा, “अष्ट्रेलियाको निरन्तर विकास सहयोग, नेपालको लोकतान्त्रिक यात्रामा दिएको साथ र समावेशी रूपान्तरणप्रति देखाएको समर्थनले हाम्रो मित्रता अझ विशेष बनेको छ।” उक्त अवसरमा प्रधानमन्त्री कार्कीले नेपाल–अष्ट्रेलिया अल्मुनाइ संघद्वारा प्रकाशित ‘६५ इयर्स टुगेदर’ स्मारिका पुस्तकको लोकार्पण पनि गर्नुभयो। स्मारिकामा दुवै देशबीचको जनस्तरिय सम्बन्धको विकास, समयक्रम, तथा विभिन्न आयामबारे विस्तृत रूपमा प्रस्तुत गरिएको छ। सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापित भएयता अष्ट्रेलियामा नेपाली समुदाय उल्लेखनीय रूपमा विस्तार भएको छ।
यसले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउनुका साथै अष्ट्रेलियाको बहुसाँस्कृतिक संरचनालाई अझ समृद्ध बनाएको छ। नेपाल र अष्ट्रेलिया द्विपक्षीय तथा क्षेत्रीय मञ्चदेखि संयुक्त राष्ट्रसंघजस्ता बहुपक्षीय संयन्त्रसम्ममा सहकार्य गर्दै आएका छन्।
जलवायु परिवर्तन, दिगो विकास, लैङ्गिक समानता, शान्ति तथा स्थायित्वका क्षेत्रहरूमा दुवै राष्ट्रको साझा प्रतिबद्धता रहेको प्रधानमन्त्री कार्कीले बताउनुभयो। जनस्तरको विस्तारिँदो सम्बन्ध, सार्वभौमिकताको सम्मान र लोकतान्त्रिक मूल्यप्रतिको दृढताको आधारमा नेपाल–अष्ट्रेलिया सम्बन्ध अझ सशक्त बन्दै गएको दूतावासले जनाएको छ।