Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
चर्चित कथा वाचिका राधिका दासीको प्रवचनसहित मेलबर्नमा छ दिने धार्मिक महोत्सव डिसेम्बर १८ बाट सुरु
नेपालआईज
३ मंसिर २०८२ १०:२१
मेलबर्न / अष्ट्रेलियाको मेलबर्नमा एउटा बृहत धार्मिक महोत्सव आयोजना हुने भएको छ। यो महोत्सव नेपालीहरूको सबैभन्दा ठूलो संस्था ‘अष्ट्रेलियन नेपलीज मल्टिकल्चरल सेन्टर (ANMC)’ ले आयोजना गर्न लागेको हो। ANMC मेलबर्नमा पशुपति मन्दिर र गुम्बा सहितको सामुदायिक भवन निर्माण गर्ने मूल उद्देश्यसहित स्थापित भएको संस्था हो।
यस वर्ष ANMC ले डिसेम्बर १८ देखि २३ तारिखसम्म सञ्चालन हुने धार्मिक महोत्सवको तयारी गरिरहेको छ। यद्यपि, शुक्रअस्तका कारण महोत्सवको औपचारिक समुद्घाटन भने डिसेम्बर १२ तारिखमा गरिने पण्डित नारायण प्रसाद ज्ञवालीले जानकारी दिनुभयो। महोत्सवका मुख्य कार्यक्रमहरू १८ देखि २३ तारिखसम्म सञ्चालन हुनेछन्।
कलश यात्रा, पन्चेबाजा, तथा विभिन्न भेषभुषासहितका झाँकीमा एक सय एक कन्यालाई अगाडि राखेर १८ तारिखका दिन महोत्सवको प्रारम्भ हुनेछ।
ANMC को आफ्नै प्राङ्गणमा हुने यस महोत्सवमा डिसेम्बर १९ देखि २३ तारिखसम्म पूज्य माता राधिका दासीज्यू बाट संगीतमय सत्सङ्ग प्रवचनको मीठास लिन पाइनेछ। साथै, महोत्सव अवधिभर दैनिक दिव्य भगवानका लीलाहरूसहितका फरक-फरक प्रस्तुतिहरू समेत रहनेछन्।
महोत्सवका संयोजक तथा ANMC का उपाध्यक्ष केशव कँडेलले ‘हामी नेपाली, एक परिवार’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै सम्पूर्ण नेपाली समुदायलाई महोत्सवको सफलताका लागि हातेमालो गर्न अनुरोध गर्नुभएको छ। उहाँले नेपालीहरूको एकता, धार्मिक सहिष्णुता, संस्कृति र पहिचानलाई प्रवर्धन गर्न तथा ANMC को मुख्य उद्देश्य प्राप्तिका लागि यो महोत्सवको महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो।
‘हामी नेपाली, एक परिवार’ को सन्देशसहित महोत्सवको आयोजनामा जुटिरहेको ANMC ले सबैलाई महोत्सवमा सहभागी भई संस्थाको आजीवन सदस्य बन्नसमेत अनुरोध गरेको छ। संस्थाका अध्यक्ष डा. तिलक पोखरेलले महोत्सवको अर्को उद्देश्य ANMC लाई आर्थिक रूपले सबल बनाउनु रहेको हुँदा सम्पूर्ण नेपाली समुदायलाई यस पुण्य कार्यमा सहयोग गरिदिनुहुन आह्वान गर्नुभएको छ।