काठमाडौँ प्रोपर्टिज कप २०२५ क्रेगिबर्न ब्रिगेड एससीको पोल्टामा…

काठमाडौँ प्रोपर्टिज कप २०२५ क्रेगिबर्न ब्रिगेड एससीको पोल्टामा…
नेपालआईज
२ पुष २०८२ २१:५०

 

मेलबर्न । क्रेगिबर्न ब्रिगेड स्पोर्ट्स क्लबले मेलबर्नमा आयोजित काठमाडौँ प्रोपर्टिज कप २०२५ जित्दै उपाधिसहित ४ हजार डलर पुरस्कार हात पारेको छ। सातजनाको सहभागितामा सम्पन्न एकदिने फुटबल प्रतियोगितामा क्रेगिबर्न ब्रिगेड एससीले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको हो।

प्रतियोगिता आइतबार, १४ डिसेम्बर मा डारेबिन इन्टरनेसनल स्पोर्ट्स स्टेडियम, थोर्नबरीमा बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गरिएको थियो। प्रतियोगितामा १६ खुला उमेर समूह र १० लिजेन्ड्स समूह (३५ वर्ष माथि) का टिमहरूले सहभागिता जनाएका थिए।

खुला उमेर समूह (काठमाडौँ प्रोपर्टिज कप) अन्तर्गतको फाइनलमा क्रेगिबर्न ब्रिगेड एससीले यति एफसीलाई पराजित गर्दै उपाधि जित्यो। उपविजेता यति एफसीले २ हजार डलर प्राप्त गर्‍यो। प्रतियोगिताका उत्कृष्ट खेलाडी जया गुरुङ, सर्वाधिक गोलकर्ता दिपेश आले, उत्कृष्ट गोलकिपर तथा फाइनलका म्यान अफ द म्याच रौनक श्रेष्ठ घोषित भए।

 

 

त्यसैगरी एभरेष्ट होम लोनस् लिजेन्ड्स कप (३५+) मा यति एफसी विजेता बन्दै २ हजार डलर पुरस्कार जित्न सफल भयो भने रोयल वेस्टर्न क्लब उपविजेता हुँदै १ हजार डलरमा सीमित रह्यो। यति एफसीका सागर थापा सर्वाधिक गोलकर्ता तथा प्रतियोगिताका म्यान अफ द टुर्नामेन्ट घोषित भए। फाइनलका म्यान अफ द म्याच उकेश श्रेष्ठ र उत्कृष्ट गोलकिपर विसन गुरुङ घोषित भए।

कार्यक्रमको प्रत्यक्ष भिडियो प्रसारण तथा फोटोग्राफी पीएस नेटवर्कले गरेको थियो भने सहभागी तथा दर्शकका लागि काठमाडौँ कटेजले स्वादिष्ट मःम उपलब्ध गराएको थियो।

कार्यक्रममा अतिथिका रूपमा काठमाडौँ प्रोपर्टिजका बद्री खनाल, एभरेष्ट होम लोनस्का राजेश कँडेल, क्रेगिबर्न ब्रिगेड एससीका अध्यक्ष कुश गुरुङ, भिक्टोरियास्थित वाणिज्य दूतावासका निराजन गौली तथा एएमएनसीका डा. तिलक पोखरेल सहभागी थिए। साथै गणेश अधिकारी, सोमप्रसाद गुरुङ, क्यालिबर बिल्डर मेलबर्नका हरि खड्का र क्रेगिबर्न नेपाली समुदायका अध्यक्ष सुजन शर्मालगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार प्रतियोगिताले खेलकुदमार्फत अष्ट्रेलियामा रहेका नेपाली समुदायबीच एकता, मित्रता र सांस्कृतिक सम्बन्ध थप मजबुत बनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर