मेलबर्न / नेपालमा आएको विनाशकारी बाढी तथा अन्य विपद्मा ज्यान गुमाएकाहरूको सम्झना र प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउन मेलबर्नको फेडरेसन स्क्वायरमा दीपप्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।
‘भिक्टोरिया युनाइट्स फर नेपाल’ नारासहित सोमबार साँझ आयोजित कार्यक्रममा भिक्टोरियाका प्रिमियर बेन क्यारोल, विपक्षी दलकी नेता जेस विल्सनसहित सरकार तथा विपक्षी दलका नेताहरू, बौद्ध धर्मगुरु, नेपाली समुदायका अगुवा र सर्वसाधारणको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै भिक्टोरियाका प्रिमियर बेन क्यारोलले नेपालमा आफ्ना प्रियजन गुमाएका तथा बेपत्ता आफन्तको खबर पर्खिरहेका परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त गरे।
उनले भने, “आज राति हामी नेपालमा आफ्ना प्रियजन गुमाएका तथा आफन्तको खबर पर्खिरहेका सबैसँग एकताबद्ध छौँ। सम्पूर्ण भिक्टोरिया तपाईंहरूको साथमा छ—फेडरेसन स्क्वायरमा प्रज्वलित प्रत्येक दीप तपाईंहरूकै लागि हो।”
कार्यक्रममा सहभागीहरूले विद्युतीय दीप प्रज्वलन गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। नेपाल र अस्ट्रेलियाका झन्डासहित उपस्थित सहभागीहरूले शोकमा रहेका परिवारलाई आफूहरू एक्लो नभएको सन्देश दिएका थिए।
एनआरएनए भिक्टोरियाको पहलमा आयोजित कार्यक्रममा अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (एएनएमसी), नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (एनएभी) लगायतका नेपाली सामुदायिक संस्थाहरूले सहकार्य गरेका थिए।
कार्यक्रममा “हामी सँगै शोक मनाउँछौँ, सँगै उभिन्छौँ र नेपालका साथमा छौँ” भन्ने सन्देशसहित विपद्बाट प्रभावित परिवारको दुःखमा भिक्टोरिया एकताबद्ध रहेको जनाइएको थियो।