Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
मेलबर्नको आध्यात्मिक महोत्सवबाट ५ लाख डलरभन्दा बढी संकलन, एएनएमसी ऋणमुक्त
नेपालआईज
९ पुष २०८२ ४:०१
मेलबर्न / अष्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (एनएमसी) द्वारा मेलबर्नमा आयोजित आध्यात्मिक तथा सांस्कृतिक महोत्सवबाट संकलित रकमले एएनएमसीको १५ एकड जमिन खरिदसम्बन्धी ऋण तिर्न महत्वपूर्ण योगदान पुगेको छ। गत १८ देखि २३ तारिखसम्म प्रसिद्ध कथावाचिका राधिका दाशीको प्रवचनसहित सञ्चालन भएको महोत्सवबाट करिब ५ लाख १२ हजार २ सय डलर संकलन भएको महोत्सवका संयोजक तथा एएनएमसीका उपाध्यक्ष केशव कंडेलले जानकारी दिनुभयो।
उहाँका अनुसार संकलित रकममध्ये २ लाख ३० हजार ८ सय १५ डलर बैंकमा नगद जम्मा भइसकेको छ। सो रकममध्ये तत्काल ऋणको आधा रकमस्वरूप २ लाख २५ हजार डलर भुक्तानी गरिने र बाँकी रकम नगद जम्मा भएपछि पूर्ण रूपमा चुक्ता गरिने एएनएमसीका अध्यक्ष डा. तिलक पोखरेलले बताउनुभयो।
उपाध्यक्ष कंडेलका अनुसार अब एएनएमसी पूर्ण रूपमा ऋणमुक्त भएको छ र भिक्टोरियास्थित १५ एकड जमिन सम्पूर्ण नेपाली समुदायको साझा सम्पत्ति बनेको छ। “यस अभियानमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगी मनहरूलाई मनदेखि नमन गर्दछु,” उहाँले भन्नुभयो।
महोत्सव अवधिमा मात्रै १४२ जना नयाँ सदस्य थपिएका छन्, जसबाट करिब १ लाख ९१ हजार ७ सय १२ डलर संकलन भएको आयोजक समितिले जनाएको छ। त्यस्तै, महोत्सवकै क्रममा १५ जना प्याट्रोन बनेका छन्। प्याट्रोन बन्नका लागि २५ हजार डलर योगदान आवश्यक पर्ने व्यवस्था रहेको छ। साथै, डोनेसन बक्समार्फत मात्रै २० हजार डलर संकलन भएको सह-कोषाध्यक्ष मनिषा अर्याल जानकारी दिनुभयो ।
कार्यसमितिका अधिकांश सदस्यहरू प्याट्रोन बनेका थिए, जसबाट मात्रै १ लाख ८० हजार डलर संकलन भएको जानकारी दिइएको छ। महोत्सव अवधिमा एएनएमसीका प्याट्रोन बन्नेहरूमा विमल आचार्य,डा. तिलक पोखरेल, डा. एकिन्द्र तिमिल्सेना, मिलन ज्ञवाली, कमल आचार्य, कृष्ण सापकोटा, केशव सापकोटा, पिताम्बर कोइराला, वाणिज्य दूत निराजन गौली, महादेव धानुक, कैलाशपति शर्मा र सन्जु शर्मा, मनिषा अर्याल, सुरेन्द्र उप्रेती तथा अर्जुन ढकाल रहेका छन्।
उपाध्यक्ष कंडेलले खर्च कटौतीपछि पनि एएनएमसी पूर्ण रूपमा ऋणमुक्त भएको स्पष्ट पार्दै भन्नुभयो, “खर्चको विस्तृत विवरण पछि सार्वजनिक गर्नेछौं। स्वयंसेवक (भोलिन्टियर) आधारमा काम भएकाले खर्च न्यून राख्न सफल भयौं।”
अध्यक्ष डा. पोखरेल र उपाध्यक्ष कंडेलले यो उपलब्धिलाई भिक्टोरियाका नेपाली समुदायका लागि खुशीको खबर भएको बताउँदै, महोत्सवका क्रममा भएका स–साना असहमतिका विषयलाई लिएर समुदायको मनोबल कमजोर नबनाउन आग्रह गर्नुभएको छ।