नेपालमा युवा युगको सुरुवात ; ३५ वर्षीय बालेन शाह भावी प्रधानमन्त्रीको उम्मेदवार

नेपालमा युवा युगको सुरुवात ; ३५ वर्षीय बालेन शाह भावी प्रधानमन्त्रीको उम्मेदवार
नेपालआईज
१३ पुष २०८२ १:१३

 

काठमाडौं — नेपालमा वैकल्पिक र युवा नेतृत्वको नयाँ राजनीतिक अध्याय सुरु हुने संकेत देखिएको छ। काठमाडौं महानगरपालिकाका मेयर तथा चर्चित युवा नेता बालेन्द्र (बालेन) शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने विषयमा बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच राजनीतिक समझदारी सार्वजनिक भएको छ। यस पहललाई देशभर फैलँदो भ्रष्टाचारविरुद्धको जनआन्दोलन र सुशासनप्रतिको जनचाहनासँग जोडेर हेरिएको छ।

समझदारीअनुसार, नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध चलाएको आन्दोलनप्रति पूर्ण अपनत्व जनाउँदै आन्दोलनका क्रममा घाइते तथा शहीद परिवारका मागहरूलाई यथोचित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, समुन्नति र सामाजिक न्यायलाई राष्ट्रिय उद्देश्यका रूपमा अघि बढाउन गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन गर्ने स्पष्ट खाका प्रस्तुत गरिएको छ। यसै आधारमा आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने लक्ष्य लिइएको छ।

बृहत् एकतापछि गठन हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहनेछ। दलको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो रङको घण्टीको आकृतिसहित रहनेछ भने चुनाव चिन्ह पनि ‘घण्टी’ नै हुनेछ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने बताइएको छ।

समझदारीअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने रहनेछन्। आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि पार्टीको संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाह अघि बढाइनेछ।

पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूको समुचित समायोजन गरिनेछ। जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई मुख्य आधार बनाइने उल्लेख गरिएको छ। साथै, आगामी आमनिर्वाचन लगत्तै यस सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी सबै दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ।

दलको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य परिवर्तनकामी, सुसंस्कृत वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई समेत आव्हान गरिएको छ।

यस पहललाई नेपाली राजनीतिमा युवा युगको सुरुवात का रूपमा हेरिएको छ, जहाँ जनचाहना, सुशासन र जवाफदेही नेतृत्व केन्द्रमा रहने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको