क्यानबेरा । अष्ट्रेलियाको गोल्ड कोस्टस्थित रोबिना स्टेडियममा आइतबार राति खेल सकिएपछि इरानको महिला फुटबल टोली मैदानबाट बाहिरिँदै गर्दा अष्ट्रेलियाली अधिकारीहरू उनीहरूलाई पर्खिरहेका थिए। अधिकारीहरूको उद्देश्य स्पष्ट थियो—यदि कुनै खेलाडीले सहयोग वा संवाद गर्न चाहन्छ भने तत्काल सहायता उपलब्ध गराउने।
अष्ट्रेलियाली पक्षका लागि पहिलो चुनौती खेलाडीहरूसँग सुरक्षित रूपमा सम्पर्क स्थापित गर्नु थियो। सोमबार बिहान सबेरै पाँच खेलाडीले अष्ट्रेलियामा शरण लिन चाहेको स्पष्ट भएपछि उनीहरूसँग औपचारिक छलफल सुरु गरिएको थियो।
सोमबार राति ती खेलाडीहरू आफ्ना निगरानीकर्ताबाट अलग भएपछि अष्ट्रेलियन फेडरल पुलिस र क्वीन्सल्याण्ड पुलिसले उनीहरूलाई सुरक्षित रूपमा साथ दिएका थिए। त्यसपछि करिब राति ९ बजे गृहमन्त्री टोनी बर्कले उनीहरूलाई भेटेर अस्थायी मानवीय भिसाका लागि आवेदनमा हस्ताक्षर गरेका थिए।
मंगलबार बिहान १:३० बजेसम्म आवश्यक कागजी प्रक्रिया पूरा भएको थियो। ब्रिसबेनको सुरक्षित स्थानमा बसेका ती पाँच खेलाडीहरूले भिसा स्वीकृत भएको देखेपछि उत्साहपूर्वक “Aussie, Aussie, Aussie!” भन्दै खुसी व्यक्त गरेका थिए।
यी खेलाडीहरू—फातेमा पसान्दिदेह, जाह्रा घानबारी, जाह्रा सरबाली, अतेफेह रमजानजादेह र मोना हमूदी—मार्च २ मा दक्षिण कोरियाविरुद्धको खेलअघि इरानको राष्ट्रिय गान नगाएको कारण चर्चामा आएका थिए। त्यसपछि इरानको सरकारी टेलिभिजनमा उनीहरूलाई “देशद्रोही” भन्दै कडा कारबाही गर्नुपर्ने टिप्पणी सार्वजनिक भएपछि उनीहरूको सुरक्षालाई लिएर चिन्ता बढेको थियो।
इरानको इस्लामिक दण्ड संहिताअनुसार देशद्रोह वा भ्रष्टाचारको आरोप लागेमा लामो जेल सजाय वा मृत्युदण्डसम्मको सजाय हुनसक्छ।
अष्ट्रेलियाली गृहमन्त्री टोनी बर्कले ती खेलाडीहरू साहसी र प्रतिभाशाली रहेको उल्लेख गर्दै उनीहरू अष्ट्रेलियामा सुरक्षित महसुस गर्ने विश्वास व्यक्त गरेका छन्।
“यी महिलाहरू उत्कृष्ट खेलाडी र राम्रो व्यक्तित्वका हुन्। अष्ट्रेलियाले इरानी महिला फुटबल टोलीलाई मनदेखि स्वागत गरेको छ,” उनले भने।
विपक्षी नेता एङ्गस टेलरले पनि सरकारको निर्णयलाई समर्थन गर्दै ती खेलाडीहरूले “असाधारण साहस” देखाएको बताएका छन्। उनले भने, “प्रत्येक विवेकी अष्ट्रेलियालीले उनीहरूको सुरक्षा र भविष्यका लागि सकारात्मक परिणाम चाहन्छ।”