पर्थ । सिङ्गापुरबाट पर्थ जाँदै गरेको उडानमा एक महिला यात्रुमाथि बलात्कार तथा अभद्र व्यवहार गरेको आरोपमा एक भारतीय नागरिकलाई अष्ट्रेलियामा पक्राउ गरी अदालतमा पेश गरिएको छ।
५४ वर्षीय सुधीर कुमार चौहानलाई सोमबार बिहान Perth Airport मा विमान अवतरणलगत्तै पक्राउ गरिएको थियो। उनीमाथि बिना सहमति यौन सम्पर्क गरेको एक र अभद्र आक्रमणका तीन मुद्दा दर्ता गरिएको छ।
उनी मंगलबार पर्थ म्याजिस्ट्रेट अदालतमा उपस्थित भएका थिए, जहाँ उनलाई हिरासतमा राख्ने आदेश दिइएको छ। जमानतसम्बन्धी सुनुवाइ शुक्रबारका लागि तोकिएको छ।
Australian Federal Police का अनुसार आरोपित व्यक्तिसँगै बसिरहेकी महिला यात्रुले घटनापछि सहयोग मागेपछि उनलाई अर्को सिटमा सारिएको थियो।
एयरलाइन्सका कर्मचारीहरूले बाँकी उडान अवधिभर आरोपितमाथि निगरानी राख्दै प्रहरीलाई जानकारी गराएका थिए। विमान पर्थ पुगेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।
घटनाबारे WA Police Sex Assault Squad सँगको सहकार्यमा थप अनुसन्धान भइरहेको जनाइएको छ।
उक्त घटना भएको उडान Scoot Airlines को रहेको बताइएको छ।