प्रधानमन्त्री बालेन शाह र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच उच्चस्तरीय भेट; शैक्षिक साझेदारी र वैदेशिक लगानीमा जोड

प्रधानमन्त्री बालेन शाह र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच  उच्चस्तरीय भेट; शैक्षिक साझेदारी र वैदेशिक लगानीमा जोड
नेपालआईज
१३ जेठ २०८३ १३:४४

काठमाडौँ । नेपालका लागि नवनियुक्त अस्ट्रेलियाली राजदूत साइमन अर्न्स्टले  प्रधानमन्त्री बालेन्द्र शाहसँग  भेटवार्ता गर्नुभएको छ।  उक्त उच्चस्तरीय भेटघाटमा  परराष्ट्रमन्त्री शिशिर खनाल तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

भेटका अवसरमा राजदूत अर्न्स्टले नेपाल र अस्ट्रेलियाबीचको लोकतान्त्रिक मूल्य र मान्यतामा बलियो समानता रहेको चर्चा गर्नुभयो। दुई देशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

डायस्पोरा र वैदेशिक लगानीमा जोड

राजदूत अर्न्स्टले अस्ट्रेलियामा रहेका नेपाली समुदाय (डायस्पोरा) को भूमिकाको प्रशंसा गर्दै यो विशाल नेटवर्क दुई देशबीचको आर्थिक साझेदारी बढाउने बलियो माध्यम बन्न सक्ने उल्लेख गर्नुभयो। अस्ट्रेलियामा रहेका नेपालीहरूको सीप र पूँजीले नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (FDI) भित्र्याउन ठूलो सम्भावना बोकेको उहाँको भनाइ थियो।

नेपालमै विश्वस्तरीय अस्ट्रेलियाली शिक्षा विस्तार गरिने

दुई देशबीचको बलियो शैक्षिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन अस्ट्रेलियाली दूतावास उत्सुक रहेको राजदूतले बताउनुभयो। नेपाल सरकारसँग निकट सहकार्य गर्दै विश्वस्तरीय अस्ट्रेलियाली शैक्षिक योग्यता र पाठ्यक्रमहरू नेपालमै सहज रूपमा उपलब्ध गराउन दूतावासले विशेष पहल गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो।

भेटवार्तामा दुवै पक्षले आपसी हितका विविधि विषय, द्विपक्षीय सहयोग र आगामी कार्यदिशाबारे सकारात्मक छलफल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको