अस्ट्रेलिया। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले आगामी जुलाई महिनाको सुरुदेखि नै काम सुरु हुने गरी क्षेत्रीय तथा ग्रामीण क्षेत्रका स्थानीय समुदायहरूलाई जनगणनाका विभिन्न पदहरूमा आवेदन दिन स्मरण गराएको छ।
यही वर्षको अगस्ट ११ मा हुने सन् २०२६ को राष्ट्रिय जनगणनालाई सफल बनाउन देशभरी १६ हजार भन्दा बढी ‘फिल्ड अफिसर’हरूको आवश्यकता परेको छ। प्रवक्ता वाल्टरले भन्नुभयो, “जनगणनाको रात अस्ट्रेलियामा रहेका प्रत्येक व्यक्तिको गणना सुनिश्चित गर्न हामीलाई देशभरिबाट टोलीको आवश्यकता छ। हाम्रो मुख्य जोड सम्भव भएसम्म स्थानीय मानिसहरूलाई नै काममा राख्नु हो, ताकि उनीहरूले आफ्नो स्थानीय ज्ञानको प्रयोग गर्दै आफ्नै समुदायलाई सहयोग पुर्याउन सकून्।”
फिल्ड अफिसरको काम के हुन्छ? जनगणना टोलीका प्रमुख हिस्सा रहेका फिल्ड अफिसरहरूले आफ्नो समुदायको सही गणना गराउन महत्त्वपूर्ण भूमिका खेल्नेछन्। उनीहरूको जिम्मेवारीमा निम्न कार्यहरू पर्दछन्:
- जनगणनाका बारेमा सर्वसाधारणले सोधेका प्रश्नहरूको जवाफ दिने।
- जनगणना सम्बन्धी पत्र र फारमहरू वितरण गर्ने।
- फारम नबुझाएका वा जवाफ नदिएका परिवारहरूसँग फलोअप (पछ्याउने) गर्ने।
- अतिरिक्त सहायता आवश्यक पर्ने व्यक्तिहरूलाई फारम भर्न मद्दत गर्ने।
“हामी यस्ता व्यक्तिहरूको खोजीमा छौँ जसमा काम गर्ने सकारात्मक ऊर्जा होस् र जो सबैसँग संवेदनशीलता एवं आदरका साथ कुराकानी गर्न सक्छन्,” प्रवक्ता वाल्टरले थप्नुभयो।
इच्छुक व्यक्तिहरूले थप जानकारी लिन र आवेदन दिनका लागि आधिकारिक वेबसाइट census.abs.gov.au/jobs मा जान सक्नुहुनेछ।