Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
क्यानबेरामा फेन्काको वार्षिक साधारणसभा सम्पन्न, प्रधानमन्त्री अल्बानिजीद्वारा नेपाली समुदायको प्रशंसा
नेपालआईज
२८ साउन २०८३ २३:२६
क्यानबेरा — फेडरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन्स अफ अस्ट्रेलिया (फेन्का) को वार्षिक साधारणसभा तथा महासभा अस्ट्रेलियाको संसद् भवनमा सम्पन्न भएको छ।
अगस्ट ११ मा आयोजित कार्यक्रममा फेन्काका सदस्य संस्थाका प्रतिनिधिहरू प्रत्यक्ष तथा भर्चुअल रूपमा सहभागी भएका थिए। कार्यक्रममा नेपाली समुदायका अगुवा, विभिन्न संस्थाका प्रतिनिधि तथा अस्ट्रेलिया सरकारका उच्च अधिकारीहरूको समेत उपस्थिति थियो।
फेन्काद्वारा जारी मिडिया विज्ञप्तिअनुसार अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले महासभालाई सम्बोधन गर्दै नेपाली समुदायलाई अस्ट्रेलियाको बहुसांस्कृतिक समाजको अभिन्न अङ्गका रूपमा प्रशंसा गरेका थिए।
प्रधानमन्त्री अल्बानिजीले अस्ट्रेलियाका विभिन्न क्षेत्रमा नेपाली समुदायले पुर्याएको योगदानको सराहना गर्दै नेपालसँग जोडिएका आफ्ना अनुभवसमेत स्मरण गरेका थिए। उनले नेपालको भौगोलिक, सांस्कृतिक तथा सामाजिक विविधताको प्रशंसा गर्दै नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको धारणा राखेका थिए।
प्रतिनिधिसभाका सभामुख मिल्टन डिकले अस्ट्रेलियामा नेपाली समुदायको जनसङ्ख्या र प्रभाव उल्लेखनीय रूपमा बढिरहेको बताए। उनले नेपाली परिकार ‘मोमो’ को बढ्दो लोकप्रियतालाई दुई देशबीचको सांस्कृतिक सम्बन्धको उदाहरणका रूपमा प्रस्तुत गरे।
रक्षासम्बन्धी सहायकमन्त्री पिटर खलिलले नेपाली समुदायको एकता तथा कला, संस्कृति र परम्परा संरक्षणप्रतिको प्रतिबद्धताको प्रशंसा गरे।
कार्यक्रममा वित्तीय सेवासम्बन्धी सहायकमन्त्री ड्यानियल मुलिनो, सांसदहरू डेभिड स्मिथ, स्याली सिटोउ र जि सुन तथा सिनेटर डेभ शर्मासहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी थिए।
फेन्काका अध्यक्ष मधु पुडासैनीको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभा महासचिव भोला गिरीले सञ्चालन गरेका थिए। कार्यक्रमको प्रारम्भमा कोषाध्यक्ष जीवन रानाले स्वागत मन्तव्य दिएका थिए।
अध्यक्ष पुडासैनीले नेपाली पहिचानको संरक्षण तथा विश्वमञ्चमा नेपालको सकारात्मक छवि प्रवर्द्धन गर्न सामूहिक पहल र सहकार्य आवश्यक रहेको बताए।
साधारणसभामा अध्यक्षको सम्बोधन, महासचिवको प्रतिवेदन तथा संस्थाको आर्थिक विवरण प्रस्तुत गरी समीक्षा गरिएको थियो। साथै, फेन्काको विधान र नियमावलीलाई समयानुकूल अद्यावधिक तथा संशोधन गर्ने विषयमा पनि छलफल भएको थियो।
फेन्काका सचिव डा. प्रकाश पौडेलले सञ्चालन गरेको प्यानल छलफलमा न्यु साउथ वेल्स, अस्ट्रेलियन क्यापिटल टेरिटोरी र भिक्टोरियाका संयोजकहरूले नेपाली समुदायको विस्तार, उदीयमान चुनौती र भावी प्राथमिकताबारे धारणा राखेका थिए।
छलफलले संस्थागत एकता सुदृढ बनाउने, युवा सहभागिता बढाउने, नेपाली भाषा, संस्कृति र सम्पदाको संरक्षण गर्ने तथा अस्ट्रेलियाको मूलधारमा नेपाली समुदायको सहभागिता विस्तार गर्ने विषयलाई प्रमुख प्राथमिकताका रूपमा पहिचान गरेको छ।
कार्यक्रममा डा. कृष्ण हमालले नेपाली अस्ट्रेलियन समुदायले अस्ट्रेलियाको अर्थतन्त्र र समाजमा पुर्याएको योगदानसम्बन्धी अनुसन्धान प्रस्तुत गरेका थिए। ग्रेटर सिड्नी मल्टिकल्चरल सेन्टरका उमेश पन्तले अस्ट्रेलियाभर सञ्चालित बहुसांस्कृतिक सामुदायिक केन्द्रहरूको भूमिकाबारे प्रतिवेदन प्रस्तुत गरे।
फेन्का र नेप्लिज अस्ट्रेलियन एसोसिएसनका प्रतिनिधिहरूले संस्थाको स्थापनाको ५०औँ वार्षिकोत्सव तथा अस्ट्रेलियामा नेपाली बसोबास स्थापनाको उत्सवमा सहभागी हुन प्रधानमन्त्री अल्बानिजीलाई निमन्त्रणा दिएका छन्।
फेन्काले अस्ट्रेलियाको संसद्, प्रधानमन्त्री अल्बानिजी, सभामुख डिक, सरकारी प्रतिनिधि, सदस्य संस्था, सामुदायिक अगुवा तथा साधारणसभामा सहभागी सबै प्रतिनिधिप्रति आभार व्यक्त गरेको छ।
अस्ट्रेलियाभरका १०६ वटा नेपाली संस्थाको प्रतिनिधित्व गर्ने फेन्काले नेपाली संस्कृति संरक्षण, सामाजिक एकीकरण तथा बहुसांस्कृतिक समुदायको विकासका क्षेत्रमा काम गर्दै आएको जनाएको छ।