छत्र शंकर / जिएसटी कर छलीमा ‘शून्य सहनशीलता’ अपनाएको अस्ट्रेलियाको कर कार्यालयले कर छलीको आशङ्कामा अस्ट्रेलियाका विभिन्न ठाउँमा छापा मारेको छ ।
कर तिर्दा जालसाजी गरेका सिड्नीका पाँच आरोपितले कानुनी कारबाही भोग्नुपर्ने भएको छ । साथै रकम फिर्ताका लागि नक्कली व्यवसाय चलाएको प्रमाण भेटिएपछि कर कार्यालयले ४० हजार व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको जनाएको छ । सङ्घीय प्रहरीको सहयोगमा कर कार्यालयले यसै हप्तादेखि छापा मार्न सुरु गरेको हो ।
गत महिना पनि कर कार्यालयले जिएसटी छलीमा लागेको भन्दै १९ जनाविरुद्ध अनुसन्धान सुरु गरेको थियो । गत महिना भिक्टोरियामा कम्तीमा ६ आरोपित पक्राउ परेका थिए ।
सिरियस क्राइम टास्कफोर्सका प्रमुख विल डेले ठगी गर्नेहरू कतै लुक्न नसक्ने चेतावनी दिए ।ठगीमा संलग्नहरूको पक्राउका लागि न्यु साउथ वेल्स, भिक्टोरिया, तास्मानिया, साउथ अस्ट्रेलिया, वेस्टर्न अस्ट्रेलिया र क्विन्सल्यान्डमा वारेन्ट (पक्राउपूर्जी) जारी गरिसकिएको छ ।