Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलियामा नेपाली पत्रकारहरुको नयाँ नेतृत्व चयन, एन्जाको अध्यक्षमा कृष्ण तिवारी निर्वाचित
नेपालआईज
१२ फागुन २०८१ ६:५२
क्यानबेरा – अस्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन (एन्जा) को नयाँ कार्यसमिति चयन भएको छ। गत शनिबार सम्पन्न साधारण सभाले पत्रकार कृष्ण तिवारीलाई अध्यक्षमा निर्वाचित गरेको छ। उपाध्यक्षमा माधव गैरे, महासचिवमा गणेश भट्ट, कोषाध्यक्षमा खगेन्द्र सत्याल, सचिवमा तक्दीर अधिकारी, प्रवक्तामा मिलन दाहाल र पब्लिक अफिसरमा कोम खत्री चयन भएका छन्। यस्तै, कार्यसमिति सदस्यहरुमा सरल गुरुङ , गोपाल छन्त्याल, केदार रायमाझी र विनायक अधिकारी चयन भएका छन्।
अध्यक्ष, उपाध्यक्ष र सदस्य पदमा निर्वाचन भएको थियो भने महासचिव र कोषाध्यक्ष पदमा निर्विरोध चयन भएका थिए। निर्वाचन समितिमा राजु अधिकारी, प्रकाश आचार्य तथा आईटी संयोजकका रूपमा आशिष सापकोटा रहेका थिए।
नव निर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष चिरञ्जीवी देवकोटाले कार्यभार हस्तान्तरण गरेका थिए। सोही अवसरमा स्व. टीका कार्की सक्रिय पत्रकारिता पुरस्कार २०२५ पत्रकार सरल गुरुङलाई प्रदान गरिएको थियो। उक्त पुरस्कार नेपाली राजदूत चित्रलेखा यादव र संघीय सांसद डेभिड स्मिथले संयुक्त रूपमा प्रदान गरेका थिए। पुरस्कारसँगै गुरुङलाई १ हजार अस्ट्रेलियन डलर राशी पनि हस्तान्तरण गरिएको थियो।
नयाँ कार्यसमितिलाई बधाई दिँदै राजदूत चित्रलेखा यादवले संस्थाले अझ प्रभावकारी रूपमा समुदायको आवाज उठाउने अपेक्षा व्यक्त गरिन्। साथै, उनले संस्थालाई समावेशी बनाएर अघि बढ्न सुझाव दिइन्।
कार्यक्रममा एनआरएन ओसेनिया क्षेत्रीय संयोजक दिनेश पोखरेल, एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एकाका अध्यक्ष कोमलराज पाठक, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष रमेश पाण्डे, नारी निकुञ्ज अष्ट्रेलियाकी संयोजक संगीता चापागाईं लगायतले एन्जासँग सहकार्यको चर्चा गर्दै शुभकामना व्यक्त गरेका थिए।