मेलबर्नमा नेपाली छात्रामाथि दुर्व्यवहार: ‘काम दिनेको नियत असल भएन’

मेलबर्नमा नेपाली छात्रामाथि दुर्व्यवहार: ‘काम दिनेको नियत असल भएन’
नेपालआईज
८ चैत २०८१ २०:३९

मेलबर्न — करिब डेढ वर्षदेखि अष्ट्रेलियामा बस्दै आएकी एक नेपाली छात्राले आफूले भोगेको असहज अनुभव सामाजिक सञ्जालमार्फत पोख्दै निराशा व्यक्त गरेकी छिन्। सुरुमा जीवन सहज लागे पनि, समय बित्दै जाँदा रोजगारीका क्रममा भोग्नुपरेको दुर्व्यवहारले उनी गम्भीर तनावमा परेकी छन्।

उनी भन्छिन्, “सुरुमा सबै राम्रो थियो। म एक सकारात्मक दृष्टिकोण राख्ने विद्यार्थी थिएँ। पढाइ मन नपरे पनि आशावादी थिएँ। दुईवटा काम गर्थें— एउटा कर तिरेर (ट्याक्स) र अर्को नगद (क्यास) मा। क्यासको कामलाई प्राथमिकता दिएर ट्याक्सको काम क्याजुअल राखेकी थिएँ। तर, पछि अनुभव निकै तीतो भयो।”

क्यासको काम गर्ने ठाउँमा उनलाई विदेशी मालिकबाट निकै नै असहज व्यवहार सहनुपर्‍यो। “काम दिने विदेशी थिए। धेरैजसो विदेशीहरूसँग मेरो अनुभव राम्रो रहेन। धेरैले नेपाली केटीहरू पैसा कमाउन आफ्नो शरीर बेच्ने गर्छन् भन्ने गलत धारणा राखेका छन्। राम्रो अवसर खोज्न जाँदा, अधिकांशले अपमानजनक र अमर्यादित प्रस्तावहरू गरेका छन्। यो जातीय भेदभाव (racism), लैंगिक भेदभाव (sexism) र महिलाप्रति हुने घृणास्पद व्यवहार (misogyny) को संयोजनजस्तै भयो।”

उनका अनुसार, मालिकले तलब दिनुपर्दा हात समाउन खोज्ने, नजिक आउन खोज्ने, शरीरको विषयमा अनावश्यक कुरा गर्ने, अश्लील प्रस्ताव राख्ने जस्ता व्यवहार देखाउँथे। “मैले सुरुमा यस्तो कुरा बेवास्ता गरें, तर बेवास्ता गर्दा झन् हद नाघ्दै गयो। अन्तिममा त उनले मेरो पछाडिबाट हात लगाएर थपी हाने। जब मैले त्यसको विरोध गरें, उनले उल्टै मलाई दोष लगाउँदै भने, ‘तिमीले मेरो प्रशंसा र सानो स्नेहलाई सहज रूपमा लिएको जस्तो देखिन्थ्यो।’”

जब उनले उक्त काम छोड्ने निर्णय गरिन्, मालिकले धम्कीपूर्ण व्यवहार देखाए। “उनले भने, ‘तिमी यहाँभन्दा राम्रो कतै कमाउन सक्दिनौ। मैले तिमी जस्ता मान्छेलाई अवसर दिएँ, तर तिमीहरूले यस्तो गर्यौ!’”

उनी भन्छिन्, “मलाई रिपोर्ट गर्न मन थियो, तर म विद्यार्थी हुँ। क्यासमा काम गर्थें, त्यसैले कर कार्यालय (ATO) वा अध्यागमन (Immigration) बाट कारबाहीको डरले कुनै कानुनी कदम चाल्न सकिन।”

हाल उनी कर तिरेर गरिने (ट्याक्स) काम गरिरहेकी छिन्, तर कामको समय निकै कम भएकाले आर्थिक रूपमा पनि समस्या भोगिरहेकी छिन्।

उनी भन्छिन्, “विदेशी मालिकहरूमा विश्वास गुमाएँ। म अब नेपालीहरूसँगै काम गर्न चाहन्छु। सबै विदेशी नराम्रा हुँदैनन्, तर हरेक पटक मलाई नै यस्तो अनुभव किन? कम्तीमा आफ्नै समुदायका माझ भए, तिनीहरू मलाई ‘गरिब देशबाट आएकी केटी’ भनेर हेर्ने त थिएनन्।”

उनले मेलबर्नमा बस्ने वा आउन लागेका नयाँ नेपाली विद्यार्थीहरूलाई सजग हुन आग्रह गरेकी छिन्। “कसैलाई पनि सजिलै विश्वास नगर्नुहोस्। नेपाली समुदायभित्र पनि यस्तो गर्नेहरू हुन सक्छन्, तर जसको लागि काम गर्ने भन्ने निर्णय राम्ररी सोचेर गर्नुहोस्। अनि नेपाली दाजुभाइहरू, कृपया कुनै चेलीबेटीलाई यस्तो व्यवहार नगर्नुहोस्। बरु, दाजुभाइ वा राम्रो सहकर्मी बन्नुस्।”

यो घटनाले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरूले काम खोज्दा सतर्क रहनुपर्ने देखाएको छ। त्यस्तै, विदेशी रोजगारदाताहरूबाट हुने शोषण र दुर्व्यवहारविरुद्ध समुदाय स्तरबाट छलफल र समाधान खोज्न आवश्यक देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर