सिड्नी– अस्ट्रेलियामा भर्खरै आएका नेपाली समुदायका सदस्यहरूलाई केही महत्त्वपूर्ण जानकारी प्रदान गरिएको छ। निम्न विषयहरूमा विशेष ध्यान दिनु आवश्यक छ।
सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)
यदि तपाईंले गाडी चलाउँदा कुनै गल्ती गर्नुभयो र जरिवाना तिर्नुपर्ने, पोइन्ट घट्ने वा लाइसेन्स सस्पेन्ड हुने अवस्था आयो भने, अरू कसैको नाममा जरिवाना सार्न वा पोइन्ट जोगाउन अनधिकृत व्यक्तिलाई पैसा तिरेर “नोमिनेट” नगर्नुहोस्।
कतिपय व्यक्तिहरूले विदेशी ड्राइभर लाइसेन्सको दुरुपयोग गरी पैसा कमाउने र पछि ब्ल्याकमेल गर्ने सम्भावना रहन्छ। साथै, सरकारका सम्बन्धित निकायहरूले यस्ता केसहरूको अनुसन्धान गर्न सक्छन्, जसले कानुनी कारबाहीको जोखिम बढाउँछ।
यदि जरिवाना परेमा कानूनी प्रक्रियाहरू (जस्तै, पुनरावलोकनका लागि निवेदन दिने वा अदालतमा जाने) अपनाउन सकिन्छ।
नयाँ नियम:
• १ जुलाई २०२३ वा त्यसपछि अस्ट्रेलिया आएका अस्थायी विदेशी नागरिकहरू (विद्यार्थी, अस्थायी आवासीय भिसा धारकहरू आदि) लाई छ महिनाभित्र NSW ड्राइभर लाइसेन्स लिनुपर्नेछ।
• १ जुलाई २०२३ भन्दा अघि आएका अस्थायी विदेशी नागरिकहरू, जो १ मार्च २०२५ पछि पनि NSW मा बस्न चाहन्छन्, तिनीहरूले १ मार्च २०२५ अघि NSW ड्राइभर लाइसेन्स लिनुपर्नेछ।
काम खोज्दा वा समान किनबेच गर्दा सावधानी अपनाउनुहोस्
सामाजिक सञ्जाल (जस्तै, Gumtree, Facebook Marketplace) वा अन्य विज्ञापनका माध्यमबाट काम खोज्दा वा समान किनबेच गर्दा विशेष सतर्कता अपनाउनुहोस्।
• अन्तर्वार्ता वा समान किनबेच गर्न जाँदा दिइएको ठेगाना राम्ररी जाँच्नुहोस्।
• सम्भव भएसम्म पार्क वा सुनसान ठाउँमा एक्लै नगइदिनुहोस्।
• गाडी किनबेच वा रोजगारको प्रलोभनमा परेर धेरै व्यक्तिहरू ठगी, लुटपाट वा शारीरिक आक्रमणको शिकार भएका छन्।
आफ्नो बैंक खाता कसैलाई पनि नदिनुहोस्
यदि कोही व्यक्तिले तपाईंको बैंक खातामा पैसा जम्मा गरिदिन्छु वा तपाईंले रकम राखेर बाँकी फिर्ता दिनुपर्ने प्रस्ताव गर्छ भने, यस्तो प्रस्ताव स्वीकार नगर्नुहोस्।
यसरी “स्क्याम” वा “मनि लाउन्डरिङ” मा फस्न सकिन्छ, जसले गम्भीर कानुनी कारबाही निम्त्याउन सक्छ।
(नोट: माथिको जानकारी सामाजिक सचेतनाका लागि मात्र हो। कुनै पनि कानुनी परामर्श आवश्यक परेमा सम्बन्धित सरकारी निकाय वा कानुनी सल्लाहकारसँग सम्पर्क गर्नुहोस्।)