अष्ट्रेलियामा नेपाली मूलकी शोभा क्विन्सल्याण्डको क्षेत्रीय मेडिकल पाथवे कार्यक्रममा छनोट

अष्ट्रेलियामा नेपाली मूलकी शोभा क्विन्सल्याण्डको क्षेत्रीय मेडिकल पाथवे कार्यक्रममा छनोट
नेपालआईज
८ चैत २०८१ २३:३४


क्विन्सल्याण्डका प्रिमियर डेविड क्रिसाफुलीले क्षेत्रीय मेडिकल पाथवे कार्यक्रमअन्तर्गत १६१ छात्रछात्रामध्ये शोभा गोपाली यादव छनोट भएकोमा खुशी व्यक्त गरेका छन्।

शोभा गोपाली यादव पहिलो वर्षकी मेडिकल विद्यार्थी हुन्। उनले आफ्नी आमाको पदचिन्ह पछ्याउँदै चिकित्सा क्षेत्रमा करिअर बनाउने यात्रा सुरू गरेकी छन्। उनकी आमा रोकह्याम्प्टनमा डायलासिस नर्सका रूपमा कार्यरत छन्।

क्रिसाफुलीका अनुसार सेन्ट्रल क्विन्सल्याण्ड र वाइड बे क्षेत्रमा स्थानीय विश्वविद्यालयहरूमा हालसम्मकै ठूलो संख्यामा भविष्यका चिकित्सकहरूलाई तालिम दिइँदैछ।

यस कार्यक्रमको उद्देश्य क्षेत्रीय तथा ग्रामीण क्विन्सल्याण्डका विद्यार्थीहरूलाई उनीहरूकै स्थानीय क्षेत्रमा अध्ययन र कार्य गर्ने अवसर प्रदान गर्नु हो। साथै, सरकारले यसलाई “स्वास्थ्य सेवा पहुँच सहज योजना” को महत्वपूर्ण हिस्सा भनेको छ।


बिराटनगरमा जन्मेकी शोभा सानैमा आफ्ना बुबा-आमासँग अस्ट्रेलिया आएकी थिइन्। सानैदेखि पढाइमा अब्बल उनी प्राइमरी स्कुलमा सरकारी विद्यालयमा र हाइस्कुलमा क्याथोलिक विद्यालयमा अध्ययन गरिन्। बुबा-आमाको व्यस्त जीवनका बाबजुद उनले चिकित्सक बन्ने सपना कहिल्यै छोडिनन्।

आमा योगेश्वरी यादवलाई डायलासिस नर्सका रूपमा काम गरेको देखेपछि उनले पनि आमाले निभाइरहेको जिम्मेवारी सम्हाल्ने निर्णय गरिन्। आमाबाट प्रेरित र बुबाको मार्गदर्शनमा अघि बढेकी शोभा अब सात वर्षपछि ‘डाक्टर शोभा’ बन्ने यात्रामा छन्।

उनका बुबा लक्ष्मण गोपाली भन्छन्, “छोरीको सफलताले गर्व महसुस गरेको छु। क्विन्सल्याण्डको गाउँमै बसेर मेडिकल अध्ययन गर्न पाउनु ठूलो अवसर हो। यो केवल हाम्रो परिवारका लागि मात्र होइन, नेपाली समुदायकै लागि पनि खुसीको खबर हो। शोभाले रोजेको बाटो दोस्रो पुस्ताका लागि प्रेरणादायी बन्न सक्छ।”

शोभा क्षेत्रीय मेडिकल पाथवे कार्यक्रमका लागि छनोट भएपछि राज्यका प्रिमियर र स्थानीय सांसदहरूले सामाजिक सञ्जालमा उनको प्रशंसा गरेका छन्। स्थानीय समाचारमाध्यमहरूले पनि उनको उपलब्धिबारे समाचार प्रकाशित गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर