सनशाइन कोस्ट | नेपाली समुदायको संस्थागत सुदृढीकरण, सामाजिक एकता र सांस्कृतिक पहिचानको प्रवर्द्धनका लागि स्थापना भएको नेपाली सोसाईटी सनशाइन कोष्टको प्रथम वार्षिक साधारण सभा २०२५ जुन २०, शुक्रबारका दिन बडरिमस्थित सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।
सभाले गहन छलफल, सुझाव र सर्वसम्मतिको आधारमा २०२५ देखि २०२७ कार्यकालका लागि यम कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। संस्थागत स्थायित्व र समावेशी नेतृत्व निर्माण गर्ने उद्देश्यसहित गठित समितिमा व्यवसाय, शिक्षा, स्वास्थ्य, महिला, युवा र खेलकुद क्षेत्रको सहभागिता सुनिश्चित गरिएको छ।
कार्यक्रममा समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरू व्यवसायी, पेशेवर, विद्यार्थी, महिला, युवा, अभिभावक र ज्येष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागिता उत्साहजनक रहँदा, समुदायभित्रको एकता र संस्थाप्रतिको विश्वास अझै प्रगाढ बनेको आयोजक समितिको भनाइ छ।
नवगठित कार्यसमितिको अध्यक्षमा यम कुँवर सर्वसम्मत चयन भएका छन्। उनले संस्थाको नेतृत्व सम्हाल्दै सामाजिक उत्तरदायित्व, पारदर्शी व्यवस्थापन र एकता मजबुत पार्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता बताए ।सचिवमा विशाल शर्मा चयन भएका छन् भने सह–सचिवमा बबर पाण्डेले जिम्मेवारी पाएका छन्। लेखा व्यवस्थापनका लागि कोषाध्यक्षमा सुजना श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।
संस्कृति क्षेत्रको समन्वयका लागि इन्केश महर्जन सांस्कृतिक संयोजक चयन भएका छन्। खेलकुद संयोजकमा केशव बस्यालले जिम्मेवारी सम्हाल्ने भएका छन् भने युवा तथा विद्यार्थी संयोजकमा प्रवेश पोखरेल नियुक्त भएका छन्।महिला संयोजकको रूपमा कोपिला उपाध्यायलाई चयन गरिएको छ। सामाजिक सञ्जाल संयोजनको जिम्मा सोहन प्रजापतिले पाएका छन्। स्वास्थ्यसम्बन्धी सल्लाहको लागि ज्ञानु के.सी. सल्लाहकारको भूमिकामा रहेकी छन् ।
ज्येष्ठ नागरिकको प्रतिनिधित्व नारायण प्रसाद उप्रेती रहेका छन् भने कार्यक्रम व्यवस्थापनको जिम्मा स्वस्तिक पोखरेललाई दिइएको छ।कोष संकलन संयोजनका लागि नम्रता शर्मा, ईश्वर राई, शिव पौडेल, दीपिन सुवेदी र सिर्सक के.सी. लाई जिम्मेवारी दिइएको छ। साधारण सदस्यहरूको नाम निकट भविष्यमै सार्वजनिक गरिने समितिले जनाएको छ।
नवगठित समितिको पहिलो बैठक यही जुन २७, शुक्रबारका दिन बस्ने तय भएको छ। सो बैठकबाट बाँकी रिक्त पदहरूको मनोनयन, कार्यविभाजन तथा साधारण सदस्यहरूको नियुक्ति प्रक्रिया सम्पन्न गरिने जनाइएको छ।समाजको मुख्य उद्देश्य नेपाली भाषा, संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण र प्रवर्द्धन गर्नु रहेको समितिले स्पष्ट पारेको छ। नयाँ नेतृत्वले समावेशी प्रतिनिधित्व, पारदर्शी कार्यशैली, महिला र युवा सहभागिता तथा ज्येष्ठ नागरिकको सम्मानलाई आफ्नो कार्यदिशाको केन्द्रमा राख्ने प्रतिबद्धता जनाएको छ।
निकट भविष्यमा समाजले सांस्कृतिक, शैक्षिक, सामाजिक तथा खेलकुद गतिविधिहरू सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। यस्ता कार्यक्रमहरूले नेपाली समुदायभित्रको सक्रियता, प्रतिभा र एकतालाई अझ सशक्त बनाउने उद्देश्य राखिएको अध्यक्ष कुँवरले बताए ।