मेलबर्न । “भोटर त बढे, अब जित कसले दिलाउने?”, यो प्रश्न अहिलेको एनआरएनए अष्ट्रेलिया निर्वाचनको सबैभन्दा गहिरो र सान्दर्भिक प्रश्न हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकालका लागि सदस्यता सङ्ख्या १७ हजार पुगेको छ । यो अहिलेसम्मकै उच्च सदस्यता हो, जसले चुनावी प्रतिस्पर्धालाई झनै चर्को बनाएको छ। तर मूल प्रश्न अहिले उभिएको छ यी हजारौं मतदाता को प्रभावमा मतदान गर्नेछन्? आफ्नै विवेकले कि प्रवासी नेपाली राजनीतिक दलहरूका संगठनहरूको निर्देशनमा?
संख्या धेरै भयो, चेतना पनि बढ्यो कि होइन?
तर संख्याले मात्र अर्थ राख्दैन। अब चुनावको फोकस “को जित्ने?” भन्दा बढी “को जिताउने? मा खुम्चिएको छ। प्रवासी राजनीतिक संगठनको पकड नेपाली राजनीतिक दलहरूका प्रवासी भ्रातृ संगठनहरू जस्तै नेपाली कांग्रेसको प्रवासी संगठन, नेकपा (एमाले) समर्थक समूह, माओवादी पृष्ठभूमिका संगठनहरू, र अब उदाउँदै गरेको स्वतन्त्र अभियान सबैले आ-आफ्नो उम्मेदवारलाई जिताउने रणनीति कसीसकेका छन्। “प्रवासी राजनीति यहाँ यति प्रभावशाली भइसकेको छ कि, कसैले उम्मेदवारी दिनु भन्दा पहिले कुन पार्टीको समर्थन पाइन्छ भनेर हेर्छ, एनआरएनएका एक पूर्व पदाधिकारीको अनुभव छ ।
गुटबन्दीको मोह र प्रवासी राजनीतिक प्रभाव
अहिले एनआरएनएको निर्वाचन मैदानमा उभिएका धेरै उम्मेदवारको पहिलो सोच के हुन्छ? “कुन दलको समर्थन लिने?” त्यसपछि मात्र उनी कार्ययोजना, एजेण्डा र समुदायप्रतिको योगदानका बारेमा बोल्न थाल्छन्। यो परिपाटीले के देखाउँछ भने, उम्मेदवारभन्दा शक्तिशाली प्रवासी राजनीतिक गुटहरू हुन्। चुनाव जित्नका लागि नीतिको होइन, नेटवर्कको भर पर्ने यो प्रवृत्ति एनआरएनएलाई संस्थानभन्दा गुटीय ढाँचामा परिणत नहोला भन्न सकिदैन ।
स्वतन्त्र मतदाता मौन तर निर्णायक शक्ति
यो प्रवृत्तिका बीचमा एक ‘शान्त क्रान्ति’ भइरहेजस्तो देखिन्छ, त्यो हो, स्वतन्त्र नेपाली मतदाता वर्गको बिस्तारो उदय। तिनीहरू न कुनै पार्टीको झण्डामुनि छन्, न कुनै गुटको निर्देशनमा। तिनीहरू पेशा, पारिवारिक जिम्मेवारी र जीवनका चुनौतीसँग जुध्दै, सामाजिक उत्तरदायित्वको भावनासँग मतदान गर्न चाहन्छन्।
यिनै मतदाता नै हुन जसले चुनावको भविष्य मोड्न सक्छन्, यदि उनीहरू जागरूक, सचेत र संगठित भए।
अब निर्णायक कुरा के हुन्?
- राजनीतिक गुटको प्रभाव कति गहिरो छ?
- स्वतन्त्र मतदाताको निर्णय क्षमता कति बलियो छ?
- उम्मेदवारले कुन एजेण्डा, कस्तो दृष्टिकोण लिएर आएका छन्?
- डिजिटल प्रचार, व्यक्तिगत सम्पर्क, समुदायप्रतिको प्रतिबद्धता , कुन पक्षले बढी विश्वास कमाउँछ?
यो केवल चुनाव होइन, प्रवासी चेतनाको प्रतिबिम्ब हो
एनआरएनए अष्ट्रेलिया निर्वाचन २०२५ केवल नयाँ कार्यसमिति चयन गर्ने प्रक्रिया होइन,यो प्रवासी नेपाली समाजले आफ्नो राजनीतिक चेतना, नागरिक विवेक र संस्थागत भविष्य कुन दिशातिर मोड्ने हो भन्ने ऐतिहासिक घडी हो।
यसकारण, भोट हाल्नुहोस् तर सोचेर हाल्नुहोस्।
मताधिकार प्रयोग गर्नुहोस् तर विवेकका साथ प्रयोग गर्नुहोस्।
दलगत गोलबन्दीको सस्तो लोभमा नपरौं