ब्रिसवेन । पुवा न्यूगिनीका नागरिकलाई नक्कली छात्रवृत्तिको नाममा अष्ट्रेलिया ल्याई जबर्जस्ती श्रम गराएको अभियोगमा एक ५६ वर्षीया महिलालाई मानव तस्करी को अभियोग लगाइएको छ।
अष्ट्रेलियन फेडरल पुलिस अन्तर्गतको नर्दन कमान्ड ह्युमन ट्राफिकिङ टिमले क्वीन्सल्याण्ड प्रहरीले उपलब्ध गराएको सूचनाका आधारमा अनुसन्धान थालेको थियो। सो सूचनामा पपुवा न्यूगिनीका नागरिकहरू अष्ट्रेलिया पढ्न आएको तर जबर्जस्ती श्रममा लगाइएको उल्लेख थियो।
नक्कली छात्रवृत्तिको बहानामा ल्याइयो
अभियोगअनुसार ती महिलाले १५ जना पपुवा न्यूगिनीका नागरिकका तर्फबाट विद्यार्थी भिसा आवेदन दिएकी थिइन्। तर उनीहरू अष्ट्रेलिया आउनुअघि वा भर्खरै आएपछि जबर्जस्ती कानुनी कागजातमा हस्ताक्षर गराएर ट्युसन, हवाइ भाडा, भिसा शुल्क, बीमा र कानुनी खर्चको नाममा अत्यधिक ऋणमा बाँधिएको बताइएको छ।
फार्ममा श्रम र ज्यालामाथि नियन्त्रण
यति मात्र होइन, ती महिलाले उनीहरूलाई क्वीन्सल्याण्डका फार्महरूमा काम गर्न बाध्य पारेकी थिइन्। उनीहरूका तलब समेत आफैले बुझेर “ऋण तिर्नुपर्छ” भन्दै रोकिराखेको आरोप छ।
यदि तपाईं आफैं वा तपाईंलाई चिन्ने कोही यस्ता शोषणमा परेका हुनुहुन्छ भने, तुरुन्तै सहायता माग्न सकिन्छ
AFP – १३१ AFP (२३७)
आपत्कालीन अवस्थामा Triple Zero (000) मा फोन गर्नुहोस्।