Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
राजनीतिक बहसले तातेको नेपाल, ब्रिसबेनमा डा. पौडेलले टोङ्गाली राजाका प्रतिनिधिसँग गरे विचारविमर्श
नेपालआईज
२० चैत २०८१ ९:४९
ब्रिसबेन- नेपालमा राजतन्त्र र गणतन्त्रबारे बहस चलिरहेका बेला अस्ट्रेलियामा रहेका परराष्ट्र मामिला विश्लेषक तथा सञ्चार विज्ञ डा. भरतराज पौडेलले टोङ्गाली राजाका सॅबाद सचिब (Speaking Chief) सुली लेईटसँग भेटवार्ता गरेका छन्।
ब्रिसबेनमा आयोजित एक अन्तर्राष्ट्रिय छलफल कार्यक्रममा उनीहरूको भेट भएको हो। प्रशान्त क्षेत्रका साना राष्ट्रहरूका चुनौतीबारे केन्द्रित छलफलमा सुली लेईटले टोङ्गाको अनुभव र दृष्टिकोण साझा गरेका थिए।
टोङ्गा, अष्ट्रेलियाको नजिकै रहेको एउटा सानो द्वीप राष्ट्र हो जहाँ आज पनि राजतन्त्र कायम छ। यहाँका राजा टुपउ छैठौं जनतासँग प्रत्यक्ष संवाद नगर्ने परम्परामा छन्। सुली लेईट राजाको सॅबाद सचिबको रूपमा त्यो संवादको प्रतिनिधित्व गर्छन्।
करीब ७५० किलोमिटर लम्बाइमा फैलिएका १७१ टापुहरूमध्ये जम्मा ४५ टापुमा मात्र मानवीय बसोबास रहेको टोङ्गा ऐतिहासिक तथा भौगोलिक दृष्टिले महत्वपूर्ण छ।
सुली लेईट राजदरबारमा गैरआदिवासीभित्र उच्च सम्मान पाउने तेस्रो व्यक्ति हुन्। उनी त्रै-नागरिकता (टोङ्गा, अष्ट्रेलिया, न्युजिल्याण्ड) भएका व्यक्ति हुन् र पत्रकारिता, व्यवसाय तथा उडान तालिम क्षेत्रमा क्रियाशील छन्।
कार्यक्रममा उनले भने, “प्रशान्त क्षेत्र अहिले राजनैतिक अस्थिरता, जलवायु संकट, उपनिवेशवादको बाँकी असर र अन्तर्राष्ट्रिय भू-रणनीतिक प्रतिस्पर्धाको घेरामा परेको छ।”
टोङ्गाली परम्परामा राजा तथा उच्च पदाधिकारीहरू प्रत्यक्ष रूपमा जनतासँग संवाद नगर्ने चलन रहेको उनले बताए। “राजतन्त्रको सम्मानमा प्रत्यक्ष संवाद नगर्ने परम्परा छ, तर प्रतिनिधिमार्फत जनभावना बुझ्ने प्रयास गरिन्छ,” उनले प्रस्ट्याए।
छलफलमा अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्भावित पुनरागमनले क्षेत्रीय राजनीतिमा पार्ने प्रभाव, जलवायु परिवर्तनको संकट, र प्रशान्त क्षेत्रका आवाजहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने चुनौतीबारे पनि गम्भीर छलफल भएको थियो।
डा. पौडेलले यस्तो बहसमा टोङ्गा जस्तो सानो तर ऐतिहासिक देशको दृष्टिकोण प्रस्तुत हुनु महत्वपूर्ण रहेको बताए।