ब्रिस्बेन – क्वीन्सल्याण्डकी एक ७४ वर्षीया महिलाको अस्ट्रेलियनसुपर खाताबाट साइबर ठगहरूले जीवनभरको बचत चोरी गरेका छन्। मार्च २०२५ मा भएको उक्त घटनामा ठगहरूले पीडितको खाताबाट छवटा अनधिकृत निकासी गर्दै करिब ४ लाख ६ हजार डलर बराबरको रकम विभिन्न कमनवेल्थ बैंक खाताहरूमा निकालेका थिए।
घटनाको जानकारी हुँदासमेत अस्ट्रेलियनसुपरले समयमा आवश्यक कारबाही नगरेको, र सम्बन्धित बैंकलाई ढिला गरी सूचित गरेको आरोप लगाइएको छ। सार्वजनिक चासो र मिडियाको निरन्तर निगरानीपछि मात्र पीडितलाई अस्ट्रेलियनसुपरले आफ्नै कोषको रिजर्भबाट क्षतिपूर्ति दिने निर्णय गरेको हो।
उक्त घटना एक समन्वित साइबर आक्रमणको हिस्सा भएको बताइएको छ, जसमा अस्ट्रेलियनसुपरका साथै अस्ट्रेलियन रिटायरमेन्ट ट्रस्ट, होस्टप्लस, र रेस्ट जस्ता प्रमुख सुपरएनुएसन कोषहरू पनि प्रभावित भएका छन्। प्रारम्भिक विवरणअनुसार करिब ६०० खाताहरूमा अनधिकृत पहुँच गरिएका छन् भने अस्ट्रेलियनसुपरका मात्र चार सदस्यहरूले झण्डै ५ लाख डलर गुमाएका छन्।
अस्ट्रेलियनसुपरले आफ्ना सदस्यहरूलाई खाताको नियमित निगरानी गर्न, बलियो पासवर्डहरू प्रयोग गर्न र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्तै कोषसँग सम्पर्क गर्न अनुरोध गरेको छ।।