अष्ट्रेलियाको राजनीतिमा नेपालीको पाइला : मेलबर्नका अनन्तको घरबाट सुरु भएको ऐतिहासिक अभियान

अष्ट्रेलियाको राजनीतिमा नेपालीको पाइला : मेलबर्नका अनन्तको घरबाट सुरु भएको ऐतिहासिक अभियान
नेपालआईज
१३ वैशाख २०८२ २२:००

 

 

 छत्र शंकर


 

मेलबर्नको एउटा साधारण घरमा असाधारण अभियानको जन्म भएको छ। नेपाली समुदायका लागि अष्ट्रेलियाको राजनीतिक इतिहासमा यो एक ऐतिहासिक मोड  पनि हुन सक्छ। मेलबर्न निवासी अनन्त पौडेल र रञ्जन श्रीवास्तवले शुरू गरेको यो अभियान – नेपाली मूलका व्यक्तिहरूलाई अष्ट्रेलियाका विभिन्न राजनीतिक दलमा सक्रिय सदस्यता दिलाउने – केवल एउटा सामाजिक कार्यक्रम मात्र होइन, भविष्य निर्माणको बीउ हो।

अनन्तको घरबाट सुरू भएको यो पहलले स्पष्ट सन्देश दिएको छ – अब नेपाली समुदायको आवाज अष्ट्रेलियाको संसद भवनभित्रै सुनिनुपर्छ। र, त्यो दिन टाढा छैन, जब कुनै नेपाली मूलका प्रतिनिधि ढाका टोपीसहित संघीय संसदमा प्रवेश गर्नेछन्।

 

राजनीतिक सदस्यता : अब अवसर गुमाउनु हुँदैन


अनन्त र रञ्जनले करिब दुई हजार नेपालीको प्रतिनिधित्व गर्ने अगुवा व्यक्तित्वहरूलाई एक ठाउँमा ल्याउँदै एउटा साझा आग्रह गरे — “अब तपाईं जुनसुकै राजनीतिक दल रोज्नुस्, तर दलको सदस्य अवश्य बन्नुस्।” उनीहरूको विश्वास छ, ठूलो दल (जस्तै लेबर वा लिबरल) मा सामेल हुँदा अवसर छिटो आउँछ, तर अन्य दलमा पनि भविष्य निर्माण सम्भव छ।

राजनीतिक दलको सदस्यता भनेको केवल सदस्य संख्या बढाउने कुरा होइन – त्यो भनेको नीतिनिर्माण प्रक्रियामा हाम्रो समुदायको सरोकार र योगदानको पहिचान गराउने माध्यम हो। शिक्षा, स्वास्थ्य, रोजगारी, आप्रवासी अधिकारजस्ता मुद्दामा नेपाली समुदायको आवाज उठाउन यो अभियान एउटा सशक्त सुरुवात हो।

 

नेपाली राजनीतिमा देखिने समस्या र समाधानको संकेत


हालसम्म अष्ट्रेलियामा नेपाली मूलका व्यक्तिहरू राजनीतिक रुपमा चुनावको बेला फुत्त उम्मेदवार बन्ने, तर न अभियान चलाउने न जित्ने खालका प्रयासहरू मात्रै देखिँदै आएका छन्। यस प्रकारको प्रयासले न त नेपाली समुदायको समर्थन पाउँछ, न त टिकाउ राजनीतिक पहिचान स्थापित हुन्छ।

तर अनन्त र रञ्जनको अभियान भने फरक छ। यसले संगठन निर्माण, सदस्यता संकलन, नीतिगत प्रशिक्षण र दीर्घकालीन राजनीतिक उपस्थितिलाई केन्द्रमा राखेको छ।

घरघरमा पुग्नुपर्ने अभियान


यो अभियान अब मेलबर्नका सीमित कोठाहरूमा मात्र सिमित रहनु हुँदैन। जब विश्व राजनीतिमा ध्रुवीकरण तीव्र बन्दैछ, तब आप्रवासी समुदायको अधिकार सुरक्षित राख्न अझ सक्रिय भुमिका खेल्न आवश्यक छ।

यस अभियानले संकेत दिएको छ -अष्ट्रेलियाको राजनीतिमा नेपालीको उपस्थिति अब देखावटी होइन, प्रभावकारी र निर्णायक हुनुपर्छ।


अनन्त र रञ्जनको यो अभियान कुनै सामन्य सुरुवात होइन -यो एक ऐतिहासिक सम्भावना हो। नेपाली मूलका अष्ट्रेलियनहरूको राजनीतिक चेतना र सहभागिताको नयाँ युगको प्रारम्भ हो। यदि यो लहर घरघरमा पुगेमा, आगामी १० वर्षमा हामी ढाका टोपीसहित अष्ट्रेलियाको संसदमा नेपाली अनुहार देख्ने सपना पूरा हुन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर