ऐतिहासिक पहल

मेलबर्नको मेरिबेक काउन्सिलमा भरतपुर महानगरसँग सिस्टर सिटी सम्बन्धका लागि प्रस्ताव पारित

मेलबर्नको मेरिबेक काउन्सिलमा भरतपुर महानगरसँग सिस्टर सिटी सम्बन्धका लागि प्रस्ताव पारित
नेपालआईज
३ जेठ २०८२ ४:३२

मेलबर्न – भिक्टोरियाका लागि  नेपाली वाणिज्यदूत निराजन गौलीको पहलमा मेलबर्नस्थित मेरिबेक सिटी काउन्सिलमा भरतपुर महानगरपालिकासँग सिस्टर सिटी सम्बन्ध स्थापना गर्ने प्रस्ताव  पारित भएको छ।

बुधबार साँझ सम्पन्न काउन्सिल बैठकमा काउन्सिलर क्रिस माइल्सद्वारा प्रस्तुत गरिएको उक्त “Notice of Motion” मार्फत भरतपुर महानगरकी मेयर रेनु दाहाललाई जून महिनामा मेरिबेककी मेयर क्र हेलेन डेविडसन र अन्य काउन्सिलरहरूसँग भेटवार्ताका लागि औपचारिक निमन्त्रणा पठाउने निर्णय गरिएको हो।

उक्त प्रस्तावमा दुई सहरबीचको सिस्टर सिटी सम्बन्धले आपसी सांस्कृतिक आदानप्रदान, समझदारी, र सहकार्यका सम्भावनाहरू विस्तार गर्न सक्ने उल्लेख गरिएको छ।

काउन्सिलर माइल्सले भने,यो प्रस्ताव केवल अन्तर्राष्ट्रिय सम्बन्धको स्थापना मात्र होइन, हाम्रो बहुसांस्कृतिक समुदायको विविधता मनाउने र आपसी सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले ल्याइएको हो।”
उनले नेपाली समुदायप्रति सम्मान व्यक्त गर्दै, “यस महत्वाकांक्षी प्रस्तावलाई अगाडि ल्याउने नेतृत्वदायी भूमिका खेलेका नेपाली वाणिज्यदूत निराजन गौलीलाई विशेष धन्यवाद दिन चाहन्छु,” भनेका छन्।  काउन्सिलबाट प्रस्ताव पारित भएपछि वाणिज्यदूत निराजन गौलीले प्रतिक्रिया दिँदै भने,यो नेपाल–अष्ट्रेलिया सम्बन्धमा नयाँ शुरुवात भएको छ।

प्रस्तावमा के छ?

  • भरतपुर महानगरकी मेयरलाई मेरिबेकका मेयर र काउन्सिलरहरूसँग भेटका लागि निमन्त्रणा पठाइनेछ।

  • आगामी जुलाईको काउन्सिल बैठकमा दुई सहरबीच सिस्टर सिटी सम्बन्धको सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गरिनेछ, जसमा प्रशासनिक संरचना, सहकार्यका सम्भावित क्षेत्र, तथा दुवै समुदायबीचको सम्बन्ध विस्तारका उपायहरू समावेश गरिनेछन्।

 नेपाल अष्ट्रेलिया सम्बन्ध 

अष्ट्रेलिया–नेपाल सम्बन्ध सन् १९६० मा स्थापना भएको हो, जसको ६०औं वार्षिकोत्सव सन् २०२० मा मनाइएको थियो। हाल अष्ट्रेलियामा नेपाली समुदाय उल्लेखनीय रूपमा वृद्धि भएको छ, विशेषतः भिक्टोरिया राज्यमा, जहाँ मेरिबेक सिटी काउन्सिल अन्तर्गतका केही क्षेत्रहरू -जस्तै ग्लेनरोय (७.८%), फक्नर (३.३%) र ओक पार्क (३.१%)  मा नेपाली भाषी जनसंख्या उच्च प्रतिशतमा देखिन्छ।

मेरिबेक काउन्सिलका अनुसार, सिस्टर सिटी सम्बन्धले स्थानीय स्तरमै सांस्कृतिक र सामाजिक लाभ प्रदान गर्न सक्छ। यस्ता सम्बन्ध स्थापित गर्दा स्थानीय समुदायको सहभागिता र ऐतिहासिक/सांस्कृतिक सान्दर्भिकता पनि आवश्यक हुन्छ।

प्रशासनिक र कानुनी पक्ष

अष्ट्रेलियाको Foreign Relations (State and Territory Arrangements) Act 2020 अन्तर्गत कुनै पनि अन्तर्राष्ट्रिय स्थानीय तहको सहकार्य – जस्तै सिस्टर सिटी -परराष्ट्र मन्त्रीलाई Foreign Arrangements Scheme मार्फत सूचित गर्नु अनिवार्य छ। यो प्रस्ताव पारित भएसँगै सो प्रक्रिया सुरु गरिनेछ।

आर्थिक र स्रोत पक्ष

काउन्सिलका अनुसार, भरतपुर महानगरसँगको सम्भावित सिस्टर सिटी सम्बन्धबारे प्रतिवेदन तयार पार्न कुनै अतिरिक्त खर्च लाग्ने छैन र यो कार्य काउन्सिलका हालका स्रोत प्रयोग गरेर नै सम्पन्न गर्न सकिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर