सिड्नी, आगामी जुलाई २६ मा हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचनमा १६ हजारभन्दा बढी सदस्यले मतदान गर्न पाउने भएका छन्। पछिल्लोपटक थपिएको समयसीमामा सदस्यता लिनेको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको हो।
१६ जुन २०२५ मा सार्वजनिक गरिएको अद्यावधिक विवरणअनुसार हालसम्म १६,०२७ जना सदस्यले मताधिकार सुरक्षित गरिसकेका छन्। यो संख्या अघिल्लो कार्यकालको १५,२०९ सदस्यभन्दा उल्लेखनीय रूपमा बढी भएको एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले जानकारी दिएका छन्।
राज्यअनुसार सदस्यता विवरण हेर्दा, सबैभन्दा बढी सदस्य न्यु साउथ वेल्समा ३,८५४ रहेका छन्। त्यसपछि भिक्टोरियामा २,६९२, पश्चिम अष्ट्रेलियामा २,५१८, अष्ट्रेलियन क्यापिटल टेरिटोरीमा १,८४९, क्विन्सल्याण्डमा १,८०३, दक्षिण अष्ट्रेलियामा १,७४५, तस्मानियामा ९७६ र नर्दन टेरिटोरीमा ५९० जना सदस्य रहेका छन्। यी सबै राज्यहरूको समग्र संख्याले एनआरएनए अष्ट्रेलियामा नेपाली समुदायको सहभागिता उल्लेखनीय रूपमा बढेको देखिन्छ।
संस्थाले ७८४ जना जीवन सदस्यको नवीकरणलाई ५० प्रतिशत दरमा गणना गर्दै कुल सम्भावित सदस्य संख्या १७,०७५ पुर्याएको छ। तर यो तथ्यांक अन्तिम भने होइन, किनकि केही आवेदनहरू अझै प्रक्रियामा छन् भने, केही पुनरावलोकन र अस्वीकृति सूचीमा छन्। साथै, राज्य परिवर्तनसम्बन्धी समायोजनहरू पनि बाँकी छन्।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले भनेका छन्, “हामी सबै प्रक्रियागत कामलाई सक्दो चाँडो टुंग्याउनेछौं। तपाईंहरूको धैर्य र विश्वासका लागि धन्यवाद। तपाईंहरूको समर्थनले एनआरएनए अष्ट्रेलियालाई अझ सशक्त बनाएको छ।”