Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अष्ट्रेलियाका ग्रामिण सहरमा पनि नेपाली संस्थागत: वार्नाम्बूलमा नेपाली समुदायको नेतृत्वमा दीपेश बास्कोटा
नेपालआईज
१३ असार २०८२ २३:०५
मेलबर्न । “नेपाली अब अष्ट्रेलियाको कुन कुना पुगेका छैनन्?”, यो अब भावनात्मक प्रश्न मात्र होइन, एक यथार्थ बनिसकेको छ। नेपाली समुदायको उपस्थिति अष्ट्रेलियाका ठूला सहरहरूसँगै ग्रामिण भूभागमा पनि संगठित रूपमा देखिन थालेको छ, र यसैको ताजा उदाहरण हो , भिक्टोरिया राज्यको सुन्दर सहर वार्नाम्बूल।
मेलबर्नदेखि करिब २५० किलोमिटर टाढा अवस्थित, ग्रेट ओसियन रोड पछ्याउँदै पुगिने यो सहर अहिले नेपाली बसोबास, सांस्कृतिक चहलपहल र सामाजिक सहभागिताको केन्द्र बन्दै गएको छ। यिनै गतिविधिलाई औपचारिक बनाउँदै हालै गठन गरिएको Warrnambool Nepalese Community Inc. (WNC) को नेतृत्व दीपेश बास्कोटाले अध्यक्षका रूपमा सम्हालेका छन्।
नयाँ कार्यसमितिमा मोहन बम (उपाध्यक्ष), सबिन पौडेल (सचिव), देवी भट्ट (कोषाध्यक्ष) र सिता खड्का बस्नेत, गंगा अर्याल, सुजन पाण्डे, आकाश केसी, सशांक सिग्देल सदस्यका रूपमा चयन भएका छन्। यो टिमले आगामी दुई वर्षभित्र सांस्कृतिक कार्यक्रम, भाषा शिक्षाको प्रवर्द्धन, आपतकालीन सहयोग र नेपाली समुदायबीच सहकार्यको सञ्जाल विस्तार गर्ने अध्यक्ष बास्कोटाले बताए ।
संस्था गठन हुनु अघिनै वार्नाम्बूलमा देउसी भैलो, फागु पूर्णिमा, नयाँ वर्ष तथा नेपाली चलचित्र प्रदर्शनजस्ता कार्यक्रमहरू हुँदै आएका थिए, जसमा उत्साहजनक सहभागिता देखिएको थियो। विशेष गरी उपाध्यक्ष मोहन बमको योगदान उल्लेखनीय छ , उनी पाँच पटक अष्ट्रेलियन जुडो टाइटल विजेतासमेत हुन्, जसले संस्थालाई खेलकुदको माध्यमबाट पनि समुदाय जोड्ने अवसर दिन सक्छ।
गत वर्ष लुम्बिनी–कपिलवस्तु विश्व अभियानका संयोजक रामकुमार श्रेष्ठको भ्रमणले समुदायलाई संस्थागत गर्ने विचारलाई थप बल दिएको थियो, जसको सार्थकता अहिले देखिएको छ।
वार्नाम्बूलजस्तो शान्त र सुन्दर सहरमा नेपालीहरूको यसरी संगठित उपस्थिति हुनु आफैंमा एक प्रेरणादायी यात्रा हो। यो संस्था अब नेपाली पहिचानलाई प्रवासी भूमिमा उज्यालो बनाउने बाटोमा अग्रसर भएको छ — जसले भोलिका पुस्ताहरूलाई गौरव गर्न लायक एउटा समृद्ध इतिहास पनि छोड्नेछ।