मेलबर्न/ गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको जुलाई २६ मा हुने निर्वाचनलाई लक्षित गर्दै युवा संयोजक पदका उम्मेदवार गौरव सुनारले आफ्नो टिम र पाँच बुँदे एजेन्डा सार्वजनिक गरेका छन्। एनआरएनए भिक्टोरियाका वर्तमान उप-युवा संयोजक समेत रहेका सुनारले आफू नेतृत्व गर्दै अघि सारेको टिम अनुभवी, समाजसेवामा सक्रिय र युवा लक्षित कार्यक्रमहरूमा केन्द्रित रहेको दाबी गरेका छन्।
गौरव सुनार सन् २०२१ देखि २०२३ सम्म एनआरएनए राष्ट्रिय समिति सदस्यको रूपमा पनि संलग्न थिए। १६ वर्षको उमेरदेखि सामाजिक संस्थाहरूमा सक्रिय रहेका उनले युवाहरूको सशक्तिकरण र समावेशीतामा विशेष जोड दिएको उल्लेख गरे।
पाँच एजेन्डा
युवा नेतृत्व र करियर विकास:
युवाहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्न तथा करियर निर्माणमा सहयोग पुर्याउने उद्देश्यले विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गर्ने।
उद्यमी भेटघाट र स्टार्टअप सहयोग:
युवा उद्यमीहरूलाई जोड्ने प्लेटफर्म निर्माण गर्ने र नयाँ व्यवसाय सुरु गर्न चाहनेहरूलाई आवश्यक परामर्श र सहयोग उपलब्ध गराउने।
मानसिक स्वास्थ्य र कल्याण चेतना:
मानसिक स्वास्थ्यको महत्वबारे सचेतना फैलाउने र आवश्यक परेमा सहयोग सेवा सञ्चालन गर्ने।
डिजिटल र साइबर सुरक्षा चेतना:
डिजिटल युगमा बढ्दो साइबर खतराबाट सचेत गराउने, युवाहरूका लागि साइबर सुरक्षा कार्यक्रम सञ्चालन गर्ने।
सांस्कृतिक तथा खेलकुद प्रवर्द्धन:
नेपाली कला, संस्कृति र खेलकुदको प्रवर्द्धन गर्न स्थानीय स्तरमा कार्यक्रमको आयोजना गर्ने।
अनुभवी टिम
सुनारको टिममा उप-युवा संयोजक पदका उम्मेदवार बम बहादुर कुँवर (बिक्रम) छन्, जो हाल फार वेस्टर्न नेपाली सोसाइटी भिक्टोरियाका सचिव हुन्। उनी विगतमा सोही संस्थाका सह–सचिव थिए र व्यवसायिक रूपमा रेष्टुरेण्ट व्यवसायी हुन् ।
युवा सदस्यमा पाँच जना
विवेक खत्री – हस्पिटालिटी क्षेत्रमा शेफ/प्रबन्धक, ‘हाम्रो सानो प्रयास’ र ‘बज्र इभेन्ट्स मेलबर्न’ का संस्थापक।
सुरेश सोती – लेखा र वित्त पृष्ठभूमि भएका मोर्टगेज ब्रोकर, अष्ट्रेलियामा १७ वर्षदेखि सक्रिय। हाल एपिङ–वोलार्ट कम्युनिटीका सदस्य हुन ।
आशिष गैह्रे – हस्पिटालिटी पेशामा संलग्न, समुदाय सेवामा अग्रसर।
रविन्द्र रेग्मी – रजिष्टर्ड मेकानिकल इन्जिनियर, रोबोटिक्स र मेकाट्रोनिक्समा स्नातकोत्तर, ऊर्जा दक्षता क्षेत्रमा व्यवसायी।
बीबीए गरेका जाङबु शेर्पा अहिले Metro Car Dealership र Car Wash व्यवसायमा संलग्न छन्।
सुनारले टिमको परिचय गराउँदै भने, “हाम्रो टिमले विगतमा गरेको समाजसेवा र योगदानको मूल्यांकन गर्दै भोट दिनुहोला। जितेपछि हामी घोषित एजेन्डाहरू पूर्ण रुपमा कार्यान्वयन गर्नेछौं।”
टिम एकतासँग प्रतिस्पर्धा
गौरव सुनारको टिमको मुख्य प्रतिस्पर्धा टिम एकताको तर्फबाट युवा संयोजक पदमा उम्मेदवार सनराइज ज्ञवालीसँग छन् ।