मेलबर्न — आज बिहान (विहीबार)वोलर्टमा भएको एक घातक गोलीकाण्डको विषयमा भिक्टोरिया प्रहरीको होमिसाइड स्क्वाडले अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार बिहान ९ बजाभन्दा केही अघि च्याम्पियन्स परेडस्थित एक आवासीय क्षेत्रको गल्लीमा एक अज्ञात व्यक्तिले २१ वर्षीय युवकलाई गोली हानेका थिए। घटनापछि हमलाकारी गाडी चढेर फरार भएका थिए।
आपतकालीन सेवाले ती युवकलाई बचाउन प्रयास गरे तापनि घटनास्थलमै उनको मृत्यु भएको घोषणा गरिएको थियो।
प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा यो लक्षित आक्रमण (targeted attack) भएको विश्वास लिएको छ। हालसम्म कसैलाई पक्राउ गरिएको छैन र घटनास्थलमा अपराध स्थलको घेराबन्दी गरिएको छ।
यसैबीच, घटनापछि केही समयमै रेजरभोयरको एमेरी स्ट्रिटमा भएको कारमा आगजनीको घटनासँग गोलीकाण्डको सम्बन्ध छ वा छैन भन्नेबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जो–कोहीसँग घटनाबारे उपयोगी जानकारी भएमा क्राइम स्टपर्सलाई १८०० ३३३ ००० मा सम्पर्क गर्न वा www.crimestoppersvic.com.au मा गोप्य रूपमा जानकारी दिन आग्रह गरिएको छ।