ढाका टोपी लगाएर मेलबर्नको ग्लेनरोयमा सरसफाइमा जुटे नेपालीहरू (फोटो फिचर)

ढाका टोपी लगाएर मेलबर्नको ग्लेनरोयमा सरसफाइमा जुटे नेपालीहरू (फोटो फिचर)
नेपालआईज
२२ भदौ २०८२ १२:१५

मेलबर्न। भिक्टोरियाको ग्लेनरोय अहिले अष्ट्रेलियामा नेपालीहरूको घना वस्तीको रूपमा परिचित छ। काठमाडौंको गौशाला झैँ, यहाँका गल्ली र सडकमा हिँड्दा नेपाली अनुहारै भेटिन्छ। छोराछोरी अध्ययन, रोजगारी र व्यवसायमा स्थायी भइसकेपछि नेपालबाट बाआमाको ओहोरदोहोरले यो क्षेत्र अझै नेपालझैँ लाग्छ।

त्यसै पृष्ठभूमिमा आइतबार ग्लेनरोयमा एक विशेष सामुदायिक सरसफाइ अभियान सम्पन्न भयो। स्थानीय नेपाली व्यवसायी (Glenroy Nepali Traders), बुवाआमा समूह, नेपाली समुदायका सदस्य तथा वाणिज्यदूत निराजन गौली स्वयंको सहभागितामा ट्रेन स्टेशन वरिपरि, व्यवसायिक क्षेत्र र सार्वजनिक स्थलमा फैलिएको फोहोर संकलन गरियो।

ढाका टोपी लगाएर पिकर र झोला समातेर फोहोर उठाइरहेका नेपालीहरूलाई देख्दा बाटो हिँडिरहेका अष्ट्रेलियनहरू अचम्मित बने। कतिपयले “Good Job!” भन्दै उत्साह व्यक्त गरे। समुदायको सक्रियता र एकताले स्थानीयलाई पनि प्रभावित बनाएको देखिन्थ्यो।

वाणिज्यदूत निराजन गौलीले संकलित फोहोर सोमबार स्थानीय काउन्सिलले टिप साइटमा लैजाने जानकारी दिँदै भने, “नेपाली व्यवसायी र स्थानीय अभिभावकको सहकार्य यस क्षेत्रमा सरसफाइ र सामाजिक सन्देश दुवैका लागि महत्त्वपूर्ण योगदान हो।”

यस अभियानमा स्थानीय सांसद क्याथलिन म्याथ्युज–वार्ड पनि सहभागी भइन्। उनले नेपाली समुदायको सरसफाइ प्रयासलाई खुलेर प्रशंसा गर्दै, नेपालीहरूको सामुदायिक भावना र लगनशीलता अष्ट्रेलियन समाजकै लागि उदाहरण बन्ने उल्लेख गरिन्।

यस सरसफाइ अभियानले स्थानीय नेपालीहरूको एकता र सामुदायिक भावना स्पष्ट रूपमा झल्काएको छ। ग्लेनरोयलाई सफा र स्वागतयोग्य बनाउन मात्र योगदान दिएको छैन, यसले आगामी दिनमा अझ धेरै बासिन्दा र व्यवसायीलाई यस्ता गतिविधिमा सहभागी हुन प्रेरणा दिने वाणिज्यदूत गौलीले बताए।

अभियानमा नेतृत्व भूमिका निभाएका समुदायका सक्रिय सदस्य नितिक श्रेष्ठखेम मिश्रलाई विशेष धन्यवाद दिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर