Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अष्ट्रेलियामा भाषा–संस्कृति जोगाउँदै संसद भवनसम्म पुगे सुरज, प्रधानमन्त्रीले दिए बधाई
छत्र शंकर
३ असोज २०८२ ११:४२
मेलबर्न।भिक्टोरियाको क्रेनवोन निवासी सुरज पराजुली अष्ट्रेलियामा भाषा र संस्कृतिको संरक्षणलाई आफ्नो जीवनको केन्द्रमा राख्छन्। उनी भन्छन्, “यहाँका धेरै पाका मानिसले नेपालबारे सुनेका मात्र छन्, देखेका छैनन्। यदि हामीले नेपाली कला–संस्कृति प्रस्तुत गर्यौं भने उनीहरूले आफ्नो परिवार र साथीहरूसँग त्यसबारे कुरा गर्छन्, अनि नेपाली संस्कृतिको सन्देश स्थानीय समुदायमै फैलिन्छ।”
पाठशालादेखि संसद भवनसम्म
सुरज Cranbourne Gyan Jyoti Pathsala का संस्थापक सदस्य तथा सचिव हुन्। दुई वर्षअघि स्थापना भएको यस विद्यालयमा हाल करिब ६६ बालबालिकाले प्रत्येक शनिबार नेपाली भाषा र संस्कृति सिक्छन्। सुरजको योजना भने फरक छ—बालबालिकाले मात्रै होइन, स्थानीय पाका पुस्ताले पनि नेपाली कला–संस्कृतिबारे चेतना पाउनुपर्छ भन्ने उनी मान्छन्। त्यसैले सुरज विद्यालयका विद्यार्थीलाई स्थानीय काउन्सिलका कार्यक्रममा लैजान्छन्, जहाँ उनीहरूले नृत्य, गीत र संस्कृतिको प्रस्तुति दिन्छन्।
यही अटुट प्रतिबद्धताले सुरजलाई अष्ट्रेलियाली संसद भवनसम्म पुर्यायो। हालै Federal Member for Holt क्यासान्द्रा फर्नान्डोको निमन्त्रणामा उनी क्यानबेरा पुगे, जहाँ प्रधानमन्त्री एन्थोनी अल्बानीज, विदेशमन्त्री पेनी वोङ र असिस्टेन्ट ट्रेजरर ड्यानियल मुलिनोले उनलाई व्यक्तिगत रूपमा बधाई दिए। सांसदले पाठशालाले नेपाली भाषा र संस्कृति संरक्षणमा गरेको योगदान र सुरजले खेलको भूमीकाको बारेमा क्यानबेराको संघीय संसदमा खुलेर प्रशंसा गरिन । “नेपालबाट यति टाढा आएर आफ्नो भाषा संरक्षण गर्दा यो देशले दिएको सम्मान देख्दा म हर्षित भएको छु। तर यो श्रेय केवल मलाई मात्र जाने होइन, भाषा पाठशालामा लागि पर्नु भएका मेरा सहकर्मीहरू र यहाँको सम्पूर्ण समुदायकै सम्मान हो।” संसद भवनमा पाठशालाका अध्यक्ष चिरन्नजिवी पाण्डे पनि संगै थिए । उनीहरु दुबैलाइ सो क्षेत्रकी सांसद फर्नान्डले रोष्टमबाट स्वागत गरेकी थिइन्।
संस्कृतिको जगेर्ना, पुस्ताबीचको सम्बन्ध
सुरजले विद्यालयका विद्यार्थीलाई Uniting AgeWell Noble Park Community मा लैजाने र त्यहाँका ज्येष्ठ नागरिकका लागि सांस्कृतिक कार्यक्रम प्रस्तुत गराउने योजना बनाएका छन्। उनका अनुसार, “नोबल पार्क अब मेरो घरजस्तै बनेको छ।” उनकी पत्नी सरु अधिकारी त्यहीँ Personal Care Worker (PCW) का रूपमा कार्यरत छन्। धार्मिक आस्थामा पनि गहिरो सुरज पर्व–उत्सवमा परम्परागत पोशाक लगाएर रेसिडेन्टलाई नेपाली परिकार खुवाउँदा अत्यन्त खुसी हुन्छन्। उनी भन्छन्, “यो केवल खाना होइन, संस्कृतिको माया बाँड्ने माध्यम हो।”
सहकर्मीको सम्मान, समुदायको विश्वास
Uniting AgeWell Noble Park की RSM न्यान्सी कार्गानिल्ला भन्छिन्, “सुरज उत्कृष्ट टिम–प्लेयर हुन्। उनी जहाँ आवश्यक हुन्छ, त्यहाँ सहयोगका लागि सधैं तयार हुन्छन्।” उनी Midsumma Festival मा स्वयंसेवकका रूपमा पनि सक्रिय छन्।
पेशागत यात्रा
सुरजको पेशागत यात्रा Food Services Assistant (FSA) बाट सुरु भएको थियो। टान्डेरा र स्ट्राथडनमा काम गरेर सन् २०२० मा उनी नोबल पार्क पुगे। उनी सम्झन्छन्, “जब म FSA थिएँ, मेरो सुपरभाइजर ली मोराबिटोले मेरो सीप देखिन् र मलाई सेफ बन्न प्रोत्साहित गरिन्।” आज उनी Head Chef बनेका छन्। उनी भन्छन्, “रेसिडेन्टका लागि स्वादिष्ट खाना बनाउन पाउँदा गर्व लाग्छ। उनीहरूको सकारात्मक प्रतिक्रिया सुन्दा अझै प्रेरणा पाइन्छ।”
नेपाली समुदायको गौरव
सुरज पराजुलीको कथा केवल एक आप्रवासीको पेशागत सफलता मात्र होइन—यो कथा हो भाषा र संस्कृतिको जगेर्नाको। उनले नयाँ भूमिमा पनि आफ्नो जरा–संस्कृतिलाई बचाउन, फैलाउन र चिनाउन अटुट प्रयास गरेका छन्। उनको माया, समर्पण र प्रतिबद्धताले नेपाली समुदाय मात्र होइन, अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमै एउटा प्रेरणादायी कथा लेखिरहेको छ।