मेलबर्न, अस्ट्रेलियाको मेलबर्नस्थित ब्रन्जविक इस्टमा नेपाली रेस्टुरेन्ट सञ्चालक तथा शेफ प्रमोद सोनी माथि ज्यानले मार्ने उद्देश्यले गत मंगलबार साँझ ७:५५ बजे चक्कु प्रहारको प्रयास भएको छ।
लाइगन स्ट्रिटमा रहेको ‘स्पाइस मिक्स रेस्टुरेन्टका सञ्चालक सोनीको गाडी चोरी गर्ने प्रयास गरिरहेको चोरलाई लखेट्ने क्रममा उक्त आक्रमण भएको हो। आक्रमणकारीले फर्किएर सोनीमाथि पटक-पटक चक्कु प्रहार गर्ने प्रयास गरे पनि उनले साहसिक रूपमा आत्मरक्षा गर्दै प्रतिकार गरेका थिए। सोनीको कडा प्रतिकारपछि आक्रमणकारी घटनास्थलबाट भागेका थिए।
सोनीले आफू सकुशल रहेको जानकारी दिँदै सामाजिक सञ्जालमार्फत यो आफ्नो जीवनको सबैभन्दा डरलाग्दो क्षण भएको बताएका छन्। “नेपाली भएर जन्मिएको हुँ, समस्याबाट भाग्ने होइन साहसका साथ सामना गर्ने रगत लिएर हुर्किएको हुँ। आज त्यही साहसले मलाई बचायो,” उनले लेखेका छन्।
उक्त घटनालाई अस्ट्रेलियाको स्थानीय मिडिया ९ न्यूजले समेत प्राथमिकताका साथ कभर गरेको छ।
समुदायलाई सतर्क रहन र प्रहरीलाई सहयोग गर्न अपील
घटनापछि प्रमोद सोनीले मेलबर्नमा रहेका सम्पूर्ण नेपाली समुदाय तथा स्थानीय बासिन्दाहरूलाई सतर्क रहन र अपराधविरुद्ध एकजुट हुन आग्रह गरेका छन्। विशेष गरी देरराति व्यवसाय बन्द गरेर फर्कँदा वरपरको वातावरणप्रति सजग रहन उनको सुझाव छ।
भिक्टोरिया प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। उक्त क्षेत्र वरपर कुनै शंकास्पद गतिविधि देखेका, CCTV फुटेज वा आक्रमणकारीबारे कुनै जानकारी भएका व्यक्तिहरूलाई तुरुन्त प्रहरीमा सम्पर्क गर्न अनुरोध गरिएको छ:
आपत्कालीन स्थिति (Emergency): 000
क्राइम स्टपर्स (Crime Stoppers Victoria): 1800 333 000