Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलियाको मेलबर्नमा अगस्ट २९ मा ‘गाईजात्रा’ आयोजना हुँदै
नेपालआईज
२१ साउन २०८३ ६:५०
मेलबर्न, अस्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका नेपाली युवाहरूको संस्था नेवा पुचःमेलबर्न’ले आउँदो अगस्ट २९ तारिखका दिन विशेष सांस्कृतिक कार्यक्रमका साथ ‘गाईजात्रा उत्सव २०२६’ आयोजना गर्ने भएको छ।
अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली तथा नेवारी कला, संस्कृति र परम्परालाई जीवन्त राख्ने उद्देश्यका साथ आगामी शनिबार, २९ अगस्ट २०२६ का दिन मेलबर्नस्थित अस्ट्रेलियन नेपलिज मल्टिकल्चरल सेन्टरमा ‘गाईजात्रा’ पर्व मनाउन लागिएको हो।
नेपालको काठमाडौँ उपत्यकामा सदियौँदेखि मनाइँदै आएको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वको गाईजात्रा पर्वलाई अस्ट्रेलियामा रहेका नेपाली समुदाय तथा अन्य बहुसांस्कृतिक समुदायसामु परिचित गराउन यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन्।
मौलिक संस्कृति र परम्पराको जगेर्ना
दिवङ्गत आफन्तको सम्झना र आत्मशान्तिको कामना गर्दै हास्यव्यङ्ग्य, झाँकी तथा नाचगानका साथ मनाइने यो पर्वलाई प्रवासमा पनि निरन्तरता दिनु चुनौतीपूर्ण भए पनि युवाहरूको सक्रियताले सम्भव भएको छ।
कार्यक्रमबारे जानकारी गराउँदै नेवा पुचः मेलबर्नका सचिव बिकेश महर्जनले भन्नुभयो:
“अस्ट्रेलियामा रहेका युवाहरूको माध्यमबाट हाम्रो मौलिक संस्कृति र सम्पदाको जगेर्ना गर्दै समुदायमा सकारात्मक प्रभाव पार्ने हाम्रो प्रयास हो। यस उत्सवमार्फत हामीले नेवारी संस्कृतिको प्रवर्द्धन गर्नुका साथै व्यापक नेपाली र अस्ट्रेलियन बहुसांस्कृतिक समुदायलाई जोड्न चाहेका छौँ।”