मेलबर्न — भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजी (VIT) ले नेपालका बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि २५ हजार अस्ट्रेलियन डलर सहयोग गरेको छ।
VIT ले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। संस्थाका अनुसार सहयोग रकम १७ हजार ४६३ अमेरिकी डलर बराबर हो।
नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै VIT ले नेपाली विद्यार्थी, कर्मचारी तथा उनीहरूका परिवारप्रति सहानुभूति व्यक्त गरेको छ।
“नेपालका बाढीप्रभावित क्षेत्रमा परिवार, साथीभाइ तथा आफन्त रहेका विद्यार्थी, कर्मचारी र सहकर्मीसँग हाम्रो साथ र सहानुभूति छ,” VIT ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
संस्थाले कठिन परिस्थितिको सामना गरिरहेका नेपाली विद्यार्थीप्रति संवेदनशील र सहयोगी व्यवहार गर्न आफ्ना कर्मचारीलाई आग्रह गरेको छ। थप सहयोग आवश्यक पर्ने विद्यार्थी तथा कर्मचारीलाई VIT विद्यार्थी सेवामा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
मेलबर्नसहित एडिलेड, सिड्नी र जिलोङमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको VIT ले नेपालमा जारी राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराएको जनाएको छ।