नेपाल/ एनआरएनए अस्ट्रेलियाले भोटेकोशी बाढीबाट प्रभावित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई १५ वटा डेस्कटप कम्प्युटर, पाँचवटा ल्यापटप र दुईवटा प्रिन्टर प्रदान गरेको छ।
विद्यालयमा कम्प्युटर प्रयोगशाला स्थापना तथा कार्यालय र विद्यार्थीको प्रयोगका लागि उक्त सामग्री सहयोग गरिएको एनआरएनए अस्ट्रेलियाले जनाएको छ। सहयोग सामग्री शनिबार विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
बाढीका कारण विद्यालयको भौतिक संरचना र नियमित पठनपाठन प्रभावित भएपछि चौधरी समूह र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) को सहयोगमा अस्थायी विद्यालय निर्माण भइरहेको छ।
विद्यालयका प्रधानाध्यापक रगेन्द्र दवाडीले सहयोगबाट विद्यार्थीको प्रविधिमैत्री शिक्षामा पहुँच विस्तार हुनुका साथै विद्यालयको प्रशासनिक काम सञ्चालन गर्न सहज हुने बताए। उनले विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिका तर्फबाट एनआरएनए अस्ट्रेलियाप्रति आभार व्यक्त गरेका छन्।