मेलबर्न / नेवा समुदायको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा अर्थात् ‘येँया पुन्हि’ यस वर्ष मेलबर्नमा थप भव्य र व्यापक सहभागितासहित मनाइने भएको छ।
नेवा गुठी भिक्टोरियाले शनिबार ग्लेनरोय सिनियर सिटिजन्स हलमा आयोजना गरेको प्रेस भेटघाटमा इन्द्रजात्रा–येँया पुन्हि मेलबर्न २०२६ को तयारी, सांस्कृतिक महत्त्व र कार्यक्रमका प्रमुख आकर्षणबारे जानकारी गराइएको हो।
आगामी २६ सेप्टेम्बरमा डिगर्स रेस्टस्थित अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (एएनएमसी) मा आयोजना हुने उत्सवमा परम्परागत सङ्गीत तथा नृत्य, सांस्कृतिक प्रस्तुति, धार्मिक अनुष्ठान, रथ निर्माण र रथयात्रालगायत कार्यक्रम समावेश गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा नेपाली समुदायका अगुवा, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, शुभेच्छुक तथा समर्थकहरूको सहभागिता थियो। सहभागीहरूले अस्ट्रेलियामा नेपाली तथा नेवा संस्कृति, परम्परा र पहिचानको संरक्षणसँगै नयाँ पुस्तामा यसको हस्तान्तरण गर्नुपर्ने विषयमा जोड दिएका थिए।
नेवा गुठी भिक्टोरियाका अध्यक्ष माया प्रसाद सुवालले गत वर्षको उत्साहजनक सहभागिताबाट प्रेरित भएर यस वर्षको इन्द्रजात्रालाई अझ ठूलो, समावेशी र प्रभावकारी बनाउने तयारी भइरहेको बताए।
उनले भने, “इन्द्रजात्रा हाम्रो इतिहास र परम्पराको उत्सव मात्र होइन, नेपालको समृद्ध सांस्कृतिक सम्पदालाई अस्ट्रेलियाको व्यापक समुदायसमक्ष प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर पनि हो।”
सुवालले गत वर्षको कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्वयंसेवक, कलाकार, सामुदायिक संस्था, समर्थक तथा समुदायका सदस्यप्रति आभार व्यक्त गर्दै यस वर्ष पनि सक्रिय सहभागिताका लागि आह्वान गरे।
कार्यक्रममा नेवा गुठी मेलबर्नका सल्लाहकार राजन मास्केले इन्द्रजात्राको ऐतिहासिक तथा सांस्कृतिक पक्षबारे चर्चा गरे। उनले बहुसांस्कृतिक अस्ट्रेलियामा नेपालको विशिष्ट सांस्कृतिक सम्पदा संरक्षण र प्रवर्द्धनलाई निरन्तरता दिनुपर्ने बताए।
सामुदायिक अगुवा पियुष कायस्थले मेलबर्नमा इन्द्रजात्रा आयोजना गर्दाका प्रारम्भिक अनुभव र चुनौतीबारे जानकारी दिए। विशेषगरी परम्परागत रथ निर्माण तथा अस्ट्रेलियाका सुरक्षा र कानुनी मापदण्डअनुसार कार्यक्रम सञ्चालन गर्नुपर्ने पक्ष चुनौतीपूर्ण रहेको उनको भनाइ थियो।
भिक्टोरियाका पूर्व नेपाली वाणिज्यदूत निराजन गौलीले मेलबर्नमा नेपालको महत्त्वपूर्ण सांस्कृतिक परम्परा प्रस्तुत गर्न नेवा गुठी भिक्टोरियाले गरेको प्रयासको प्रशंसा गरे। उनले अस्ट्रेलियामा इन्द्रजात्राको छुट्टै र सशक्त पहिचान विकास गर्नुपर्ने सुझावसमेत दिए।
एनआरएनए भिक्टोरियाका संयोजक महादेव धानुकले नेपाली समुदायको सांस्कृतिक पहिचान संरक्षण र प्रवर्द्धनमा संस्थाको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए।
कम्युनिटी चौतारी अफ एनएभीका अध्यक्ष राजीव वाग्ले, एमएनसीडब्ल्यूका अध्यक्ष विक्रम शर्मा पंगेनी तथा सामुदायिक अगुवा शंकर धरेलले पनि इन्द्रजात्रालाई सफल बनाउन सामुदायिक सहभागिता र दीर्घकालीन सहकार्य आवश्यक रहेको बताए।
धरेलले इन्द्रजात्रालाई अस्ट्रेलियाको मूलधारको बहुसांस्कृतिक उत्सवका रूपमा स्थापित गर्दै भावी पुस्ताका लागि यसको ऐतिहासिक तथा सांस्कृतिक विरासत संरक्षण गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सञ्चारकर्मी र सहभागीबीच इन्द्रजात्राको इतिहास, परम्परागत रथ निर्माण, सुरक्षा मापदण्ड, सामुदायिक सहभागिता तथा अस्ट्रेलियामा यसको दीर्घकालीन विकासका विषयमा प्रश्नोत्तरसमेत भएको थियो। कार्यक्रम सञ्चालन रमिता बाटीले गरेकी थिइन्।
काठमाडौं उपत्यका र नेवा समुदायसँग गहिरो सम्बन्ध रहेको इन्द्रजात्रालाई धार्मिक आस्था, परम्परागत कला, सङ्गीत, नृत्य, जात्रा र सामुदायिक सहभागिताको अनुपम सङ्गम मानिन्छ। मेलबर्नमा यसको आयोजनाले नेपाली मूलका नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्नुका साथै अस्ट्रेलियाका अन्य समुदायलाई नेपालको सांस्कृतिक विविधता चिनाउने अपेक्षा गरिएको छ।
नेवा गुठी भिक्टोरियाले नेपाली, अस्ट्रेलियाली तथा विभिन्न बहुसांस्कृतिक समुदायका व्यक्ति, परिवार, कलाकार, स्वयंसेवक र सङ्घसंस्थालाई उत्सवमा सहभागी हुन आह्वान गरेको छ।