सामुदायिक पत्रकारिताको शुरुवात

सामुदायिक पत्रकारिताको शुरुवात
नेपालआईज
११ वैशाख २०७९ ११:३९

सन् २०२१ मा स्थापना भएको नेपाल आईज् मल्टिकल्चरल मिडिया अस्ट्रेलियाद्वारा  संचालित नेपाल आईज् डटकम डट एयू नेपाली भाषी समुदायमा आधारित  समाचारमुलक अनलाईन पोर्टल हो । यसको वेभ पोर्टलले नेपाली भाषा र समुदायसंग सम्बन्धित जानकारी प्रदान गर्दछ । 

शक्ति, सत्ता र सुकिला मानिसको खबरलाई प्राणवायु ठान्ने प्रवृत्ति र सँस्कृतिबाट हामी निरपेक्ष रहने छौं । 

अष्ट्रेलियाभित्र नेपालीजनको अर्को ठूलो नेपाल छ । अझ नेपालभाषी भूटानीको उल्लेख्य संख्याले संस्कार, संस्कृति र परम्पराको आयामलाई अझ फराकिलो बनाएको छ । आत्मा फरक भएपनि हाम्रो घाँटी एउटै छ । जीब्रोको स्वाद समान छ । खुसीका परिवेश, दुखका खिल समान छन् । 

दार्शनिकहरु भन्छन– संसारमा सबैले बुझ्ने भाषा भनेको हाँसो हो । हाम्रो चाहना आँसु कम, हाँसोको कथा बढी लेख्न पाइयोस् । सबै राज्य भित्रका नेपालीको जीवन भोगाइका पाटा हाम्रो प्रस्तुतिका केन्द्रभागमा रहनेछन् । त्यसो त नेपाली समुदाय विश्वमै फैलिएको छ । 

परदेशको भूगोलमा बसेर अभूतपूर्व विकास गर्ने नेपालीको गाथा, आकासमा उडेर आएर बाकसमा फर्किन बाध्य नेपालीको कथासम्म हाम्रो अर्जुनदृष्टि पुग्नेछ । परदेश मात्र होइन, पिंढीमा टुक्रुक्क बसेर सन्तानको दीर्घायुको कामना गरेर बसेका भगवानतुल्य अभिभावकका सपनासंग पनि हामी साक्षात्कार गराउँछौं । तिनै अभिभावक हाम्रा जीवनदायिनी शक्ति, सामथ्र्य र जमिन हुन् । आफ्नो माटोप्रति कृतज्ञ हुनु परम कर्तव्य हुनेछ । 

हामी अस्ट्रेलियाको संस्कृति, शिक्षा, आप्रवासनसम्बन्धी विषय निरन्तर उठाउने छौं । अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी तथा नेपाली आप्रवासी हाम्रा  मुख्य दर्शक, पाठक र स्रोता हुन् । 

हाम्रो वेबसाईट र सामाजिक संजालमा गरिने प्रत्यक्ष प्रशारणले  अस्ट्रेलिया तथा अन्य देशका दर्शकलाई आकर्षित गरेको छ । हामी अस्ट्रेलियामा भिडियो र पोडकास्ट सामग्री मार्फत सूचनाको राजमार्ग निर्माण गर्नेछौं ।

धन्यवाद ।

छत्र शंकर

सिईओ, नेपाल आइज मल्टिकल्चरल मिडिया अस्ट्रेलिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको