भिक्टोरिया संसद भवनमा पहिलोपटक नेपाली नयाँ वर्ष समारोह सम्पन्न

भिक्टोरिया संसद भवनमा पहिलोपटक नेपाली नयाँ वर्ष समारोह सम्पन्न
नेपालआईज
३० वैशाख २०८३ २:४७

मेलबर्न । अस्ट्रेलियाको भिक्टोरिया राज्यको ऐतिहासिक संसद भवनमा नेपाली नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान समारोह पहिलोपटक आयोजना भई  सम्पन्न भएको छ।नेपाली कन्स्युलेट भिक्टोरियाका वाणिज्यदूत निराजन गौलीको संयोजनमा आयोजित उक्त समारोहले अस्ट्रेलियाको नेपाली समुदाय र भिक्टोरियाको राजनीतिक नेतृत्वबीचको सम्बन्धलाई थप प्रगाढ एवं सुदृढ बनाएको छ।

उच्चस्तरीय राजनीतिक सहभागिता

समारोहमा भिक्टोरियाकी प्रिमियर ज्यासिन्टा एलनले विशेष उपस्थिति जनाउनुभयो। उनीसँगै राज्य सरकारका वरिष्ठ सदस्यहरू — मन्त्रीहरू एन्भर एर्डोगान, इन्ग्रिड स्टिट, लिली डिअम्ब्रोसियो एवं लुबा ग्रिगोरोभिच; क्याबिनेट सचिव स्टिभ म्याकगी; प्रिमियरकी संसदीय सचिव पलिन रिचर्ड्स; बहुसांस्कृतिक मामिलाका संसदीय सचिव इवान वाल्टर्स; तथा सांसदहरू जोश बुल, ब्रोनविन ह्याफपेनी, नाटाली हच्किन्स, ग्यारी म्यास, लोरेन क्याथेज एवं हिएङ ताक सहभागी भएका थिए। यस्तो उच्चस्तरीय राजनीतिक उपस्थितिले नेपाली समुदायप्रति भिक्टोरिया सरकारको सम्मान र सद्भावनाको प्रतिबिम्ब झल्काएको छ।

 कूटनीतिक प्रतिनिधित्व

राजनीतिक नेतृत्वका साथसाथै अन्तर्राष्ट्रिय कूटनीतिक जगतबाट पनि समारोहमा उल्लेखनीय प्रतिनिधित्व रहेको थियो। सिन्वेन फाङ, शी गाङ, तेज किशन, वाजिद हसन हाश्मी, जेसस डोमिङ्गो, माइकल मर्फी तथा क्यारोलिन मर्फीलगायत विभिन्न राष्ट्रका कूटनीतिक प्रतिनिधिहरूको सक्रिय सहभागिताले समारोहलाई अन्तर्राष्ट्रिय महत्त्व प्रदान गरेको थियो।

ANMC का अध्यक्ष डा तिलक पोखरेलले कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार अष्ट्रेलियामा बसोबास गर्ने नेपालमा जन्मिएका नेपालीको संख्या २ लाख १३ हजार ५ सय ८० पुगेको जानकारी दिए। नेपाली समुदाय अष्ट्रेलियाका प्रमुख आप्रवासी समुदायमध्ये एक रूपमा स्थापित हुँदै गएको पनि उनले बताए।

सांस्कृतिक पहिचान र समुदायको योगदान

समारोहका क्रममा वक्ताहरूले भिक्टोरियाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा नेपाली समुदायले पुर्‍याइरहेको बहुमूल्य योगदानको मुक्तकण्ठले सराहना गरे। परम्परागत नेपाली परिकार, लोकसंस्कृतिमा आधारित सांस्कृतिक प्रस्तुति तथा सौहार्दपूर्ण आतिथ्यले समारोहलाई विशेष रंग दिएको र उपस्थित सबै अतिथिहरू अत्यन्त प्रभावित भएको सहभागीहरूले बताएका छन्।

कार्यक्रमका आयोजक तथा वाणिज्यदूत निराजन गौलीले अतिथिहरूलाई स्वागत गर्दै नेपाली समुदाय र भिक्टोरिया सरकारबीचको सम्बन्ध थप सुदृढ बन्दै गएको बताए।

भिक्टोरियाको संसद भवनजस्तो प्रतिष्ठित स्थलमा पहिलोपटक नेपाली नयाँ वर्षको यो ऐतिहासिक समारोह आयोजना हुनु अस्ट्रेलियाको नेपाली समुदायका लागि एक गर्वको क्षण मात्र नभई भविष्यका लागि नयाँ सम्भावनाको द्वार उन्मोचन गर्ने महत्त्वपूर्ण पाइला समेत मानिएको छ।​​​​​​​​​​​​​​​​

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको