क्यानवेरा । मे २१ मा हुने निर्वाचनका लागि दुई हप्ता भन्दा कम समय छ र मतदाताहरु मतदानका लागि तयारी गरिरेहका छन् ।
तर निर्वाचनको दिन स्थानीय मतदान केन्द्रमा उपस्थित हुन नसक्नेहरूका लागि प्रारम्भिक मतदान औपचारिक रूपमा मे ९ तारिखमै खोलिएको छ ।
प्रारम्भिक मतदान भनेको मतदानको दिन भन्दा अगाडी नै मानिसहरूले आफ्नो भनाइ राख्न सक्ने एउटा तरिका हो र करिब ४ लाख मतदाताले पोष्ट मार्फत आफ्नो मत हालिसकेका छन् ।
सन् २०२२ को प्रारम्भिक मतदानका लागि तपाईले जान्नु पर्ने आवश्यक सबै कुरा निम्न अनुसार छन् :
प्रारम्भिक मतदान के हो र यो किन राखिएको छ ?प्रारम्भिक मतदान के हो र यो किन राखिएको छ ?
चुनावको आधिकारिक दिन मे २१ भएपनि ५ सय भन्दा बढी पूर्व मतदान केन्द्रहरू दुई हप्ता अघि नै प्रारम्भिक मतदान अवधिको लागि देशभर आधिकारिक रूपमा खुला गरिएका छन् ।
यो प्रणालीले चुनावको दिन मतदान गर्न नसक्नेहरूलाई लक्षित गरेर राखिएको हो र पछिल्ला वर्षहरूमा यसको लोकप्रियतामा बढ्दै गएको छ । २०१९ को चुनावमा ४० प्रतिशतभन्दा बढी भोट मतदानको दिन भन्दा अघि नै खसेको छ ।
अष्ट्रेलियन इलेकटोरल कमिसनका कमिसनर टम रोजर्सले यदि मतदाताले तोकिएको मितिमा मतदान गर्न नसक्ने अवस्था आउने भए उनीहरुले प्रारम्भिक मतदान विकल्पहरूको बारेमा सोच्न सक्ने र परिस्थिति अनुसार मतदान गर्न सक्ने बताए ।
म कहाँ र कसरी छिटो भोट हाल्न सक्छु ?
यदि तपाईले व्यक्तिगत रूपमा आफ्नो भोट हाल्दै हुनुहुन्छ भने तपाईले आफ्नो नजिकको मतदान स्थल अनलाइन फेला पार्न सक्नुहुन्छ । तपाईले व्यक्तिगत रूपमा प्रारम्भिक मतदान केन्द्रमा उपस्थित हुन अग्रिम दर्ता गर्न आवश्यक भने छैन ।
व्यक्तिगत रूपमा आफ्नो भोट दिन नसक्नेहरूले हुलाकबाट भोटको लागि आवेदन दिन योग्य हुन्छन् । हुलाक भोटहरूको लागि आवेदन मे १८ तारिखमा मा बन्द हुनेछ र मतपत्रहरू मे २१ अघि नै पूरा गरिसक्नु पर्नेछ ।
तपाईको मत गणना हुन उक्त मत एईसीले निर्वाचन भएको १३ दिन भित्र प्राप्त गरिसक्नु पर्नेछ ।
दृष्टिविहीन वा कम दृष्टि भएकाहरूका लागि टेलिफोन भोटिङ पनि उपलब्ध छ । २०२२ को प्रारम्भमा कोभिडबाट प्रभावित मतदाताहरूलाई अन्तिम तीन मतदान दिनको लागि आपतकालीन उपायको रूपमा टेलिफोन भोट गर्न अनुमति दिनको लागि कानून पनि पारित गरिएको छ । तर तपाईले अनलाइन भोट गर्न सक्नुहुन्न ।
के प्रारम्भिक मतदान सबैका लागि खुला छ ?
एईसीले जनाए अनुसार यदि मे २१ मा तपाई मतदान केन्द्र भन्दा बाहिर हुनुहुन्छ, यात्रा गर्दै हुनुहुन्छ, मतदान गर्न आफ्नो कार्यस्थल छोड्न असमर्थ हुनुहुन्छ, गम्भीर बिरामी, अशक्त वा छिट्टै बच्चा जन्माउने अवस्थामा हुनुहुन्छ भने तपाईले प्रारम्भिक रुपमा व्यक्तिगत रूपमा वा हुलाक मार्फत भोट दिन सक्नुहुन्छ ।
प्रारम्भिक मतदान अस्पतालका बिरामीहरू, धार्मिक विश्वास भएकाहरूका लागि जसले कसैलाई मतदान स्थलमा उपस्थित हुनबाट रोक्छ, वा सुरक्षाको डर रहेकाहरुले पनि गर्न सक्छन् ।
यदि म अन्य प्रान्त/राज्य वा विदेशमा छु भने कसरी मतदान गर्ने ?
यदि तपाई चुनावको दिन अन्य प्रान्त/राज्य हुनुहुन्छ भने तपाईले सोही प्रान्त/राज्यको अन्तरराज्यीय मतदान केन्द्रमा मतदान गर्न सक्नुह्न्छ ।
यदि तपाई विदेशमा हुनुहुन्छ भने तपाईले निश्चित दूतावास वा वाणिज्य दूतावासहरूमा व्यक्तिगत रूपमा आफ्नो मतदान गर्न सक्नुहुन्छ । तर एईसीका अनुसार सबै देशमा मतदान केन्द्रहरू भने हुनेछैनन् । यसका लागि हुलाक मतदान गर्नु उपयुक्त हुनेछ ।
यदि म दुर्गम समुदायमा बसोबास गर्छु भने के हुन्छ ?
देशका दुर्गम क्षेत्रमा बसोबास गर्ने मानिसका लागि झण्डै ४० वटा मोबाइल भोटिङ टोलीले देशभरका ३५० भन्दा बढी समुदायको भ्रमण गर्नेछन् । अधिकांश पश्चिमी अष्ट्रेलिया र उत्तरी क्षेत्रमा छन् र अधिकांश आदिवासी समुदायहरू छन् । यसको विस्तृत जानकारी अनलाइनबाट प्राप्त गर्न सकिन्छ ।
के प्रारम्भिक मतदान केन्द्रहरूमा कोभिड सुरक्षा उपायहरू छन् ?
कोभिड महामारी अझै जारी रहेका कारण प्रारम्भिक मतदान केन्द्रहरूमा कोभिडका धेरै सुरक्षा उपायहरू हुनेछन् । तर मतदानका लागि कोभिडविरुद्धको खोप भने अनिवार्य हुनेछैन ।
थप जानकारीका लागि एईसीको टेलिफोन 13 23 26 वा वेवसाइटमा सम्पर्क गर्न सक्नुहुनेछ ।
यो समाचार SBS अंग्रेजी संस्करणबाट अनुवाद गरिएको हो ।