मेलबर्नमा मन्दिर र गुम्बासहितको सांस्कृतिक केन्द्र बन्ने ! 

मेलबर्नमा  मन्दिर र गुम्बासहितको सांस्कृतिक केन्द्र बन्ने ! 
नेपालआईज
२३ जेठ २०७९ २३:३२

मेलबर्न। भिक्टोरियामा रहेका नेपालीहरुले वर्षौंदेखि देख्दै आएको नेपाली शैलीको मन्दिर, गुम्बा र नेपाली भाषा, संस्कृति, संस्कार प्रबद्र्धन गर्ने सांस्कृतिक केन्द्र निर्माण गर्ने सपना साकार हुने भएको छ । केही समय अघि किनिएको करिब १५ एकड जग्गामा स्थानीय काउन्सिलबाट पूजाआजा गर्न तथा यस सम्बन्धित कार्य गर्नका लागि स्वीकृति प्राप्त भएसँगै यस्तो बाटो खुलेको हो । गएको जुन २ तारिखमा काउन्सिलले अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरलाई यस्तो अनुमति प्रदान गरेको संस्थाका अध्यक्ष राजेश आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार अहिले रहेको संरचनालाई मर्मत गरी तत्कालै सुरु हुनेगरी पूजाकोठा, ध्यान केन्द्र, कार पार्किङ, सबैलाई उपयुक्त शौचालय, ध्वनी नियन्त्रण  साथै विवाह, व्रतबन्ध लगायतका कार्य गर्न बाहिरी उपयुक्त स्थल बनाउनका लागि आवयक पर्ने करिब दुई लाख डलर सहयोग संकलन गर्ने उद्देश्यले आगामी जुन २५ तारिखमा मेलबर्नको थनवरी थियटरमा गाला च्यारिटी डिनरको आयोजना गर्न लागिएको छ । उक्त कार्यक्रमबाट सहयोग रकम संकलन हुने र थप सदस्यहरुसमेत आबद्ध हुने अपेक्षा आफुहरुले गरेको जानकारी आचार्यले दिए ।

हाल ११ सय भन्दा बढी नेपालीहरु बहुसांस्कृतिक केन्द्रको सदस्य बनिसकेका छन् । सदस्यता शुल्क एकलका लागि ११ सय डलर र परिवारका लागि १५ सय डलर तोकिएको छ । यही सदस्यता शुल्क र यसअघि संकलन गरिएको सहयोग रकमबाट करिब १५ लाख अष्ट्रेलियन डलरमा उक्त जग्गा र त्यहाँ रहेको चार कोठे घर खरिद गरिएको थियो ।

अष्ट्रेलियामा नेपालीहरुले आफ्नै मन्दिर, धार्मिकस्थल वा बहुसांस्कृतिक केन्द्र बनाउने निकै प्रयास थालेपनि यति ठूलो जग्गामा धार्मिक कार्यसमेत गर्ने अनुमति प्राप्त भएको यही नै पहिलो हो ।

अष्ट्रेलियाको सिड्नी, ब्रिजबेन, पर्थ लगायतका ठाउँमा पनि नेपालीहरुले आफ्नै सामूदायिक केन्द्र बनाउने पहल अघि बढाएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर