मेलबर्न । कोरोना महामारीको समयमा स्वास्थ्य क्षेत्रमा काम गर्ने कामदारहरुले असाधारण काम गरेको जनाउँदै अस्ट्रेलियाको भिक्टोरिया राज्यले पनि अतिरिक्त ३ हजार अस्ट्रेलियन डलर दिने भएको छ ।
भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रुजले कारोना महामारीको समयमा स्वास्थ्य क्षेत्रमा काम गर्ने कामदारहरुले समुदायको संरक्षणमा गरेको असाधारण सहयोग प्रति धन्यवाद स्वरुप उक्त रकम दिन लागेको बताए ।
एन्ड्रुजका अनुसार पहिलो किस्ताको १ हजार ५ सय डलर अगस्त १५ मा दिइने छ भने दोश्रो किस्ता सेप्टेम्बर ३० मा दिइने छ ।
धन्यवाद रकम प्राप्त गर्नेहरुमा सार्वजनिक अस्पताल र एम्बुलेन्स सेवाहरुमा काम गर्ने नर्स, सुँडेनी, डाक्टर, सम्बद्ध स्वास्थ्य पेशेवरहरु, प्यारामेडिक्सहरु र वार्ड क्लर्कहरु पर्छन् ।
धन्यवाद रकमका लागि योग्य हुन पब्लिक हेल्थ सर्भिस अन्तर्गत जुलाई १ देखि सेप्टेम्बर ३० सम्म काम गरेको हुनुपर्नेछ ।
त्यस्तै, गत सोमबार न्यू साउथ वेल्सका प्रिमियर डोमिनिक पेरोटेटले स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुलाई सोही अनुसारको धन्यवाद रकम प्रदान गर्ने घोषण गरेका थिए ।
राज्य सरकारको यो निर्णयबाट भिक्टोरिया र न्यू साउथ वेल्सका स्वास्थ्य क्षेत्रमा काम गर्ने कैयौं नेपालीहरु लाभान्वित हुनेछन् ।