तीजको दर

हिँजो साँझ मलाई एउटा अपरिचित नम्बरबाट फोन आयो । म सितिमिति नयाँ नम्बरबाट आएको फोन उठाउँथिन थिएँ, तर यो पटक हातमा मोबाइल चलाइराखेकोले होला आँफै थिचिएर फोन उठेछ ।
’चिन्यौं नी मलाई,’ मोबाइल चलाउँदा चलाउँदै उताबाट परिचितजस्तो लाग्ने आवाजबाट कसैले बोल्यो ।
एकछिन अकमकिएँ अनि उसको आवाज चिनें । ’किन नचिन्नु मेरो फोनमा तिम्रो नम्बर सेभ छ यार,’ मैले आजकाल झुट बोल्न सिक्दैछु ।
उसको नाम चाहिँ नभनौं होला, यो पढ्यो भने ऊ मसँग रिसाउँछ ।
भिषाको प्रकृयामा अस्ट्रेलियाको गाउँ तास्मानिया आएपछि हामीले एक अर्कालाई चिनेका थियौं । आक्कल झूक्कल भेट हुन्छ हाम्रो, त्यो पनि यहाँका सामुदायिक कार्यक्रमहरुमा मात्र ।
अस्ति भर्खर नेपालबाट कलाकार आएर यहाँ कार्यक्रम हुँदा हाम्रो भेट भएको थियो । ’स्याङ्जा जाने बाटैमा तनहुँ’ भन्दै पशुपति शर्माले गीत गाउँदा हामी मज्जाले उठीबसी नाचेका थियौं । खुट्टा अहिलेसम्म पनि दुखिरहेको छ ।
हाम्रो सम्बन्ध त्यति नजिकको त होइन, तर उ मसँग नजिक हुन, मसँग गफ गर्न रुचाउँथ्यो । सायद उ बोलिराख्ने र मैले उसको कुरा सुनिदिने भएर होला । म फेरी निकै नै कम बोल्छु, आवश्यक पर्दा मात्र ।
’भोलि के छ तिम्रो,’ अरु प्रसंगमा कुरा हुँदाहुँदै उसले प्रश्न गर्यो ।
’मेरो विहानै काम छ यार,’ मैले बोल्दा बोल्दै ऊस्ले फ्याट्ट भन्यो, ’भोलि हाम्रोमा आउ है भाउजुलाई लिएर ।’ हामी एउटै सालमा जन्मिएको भएपनि उसले मेरी श्रीमतिलाई भाउजु भन्छ, मैले उसकी श्रीमतिलाई ।
‘किन र ?’ मेरो जिज्ञासामा मधुरो स्वरमा उताबाट महिलाको आवाज आयो, ’राधा (मेरी श्रमीती) लाई लिएर आउनु है हाम्रोमा भोलि तीजको दर खान ।’ त्यो महिलाको आवाज भाउजुको हो भनेर छुट्याउन मलाई समय लागेन ।
’मेरो त मिल्छ तर बुढीको रोस्टर मलाई थाहा छैन । म सोधेर खबर गर्छु है,’ भनेर फोन राखें ।
श्रीमतिको रोस्टर भन्दा पहिले आफ्नो मोबाइलमा हाम्रो पात्रो खोलें । तीज अगस्ट ३० मा परेको रैछ, उसले बोलाएको दिनको ठिक १५ दिन पछि ।
’तीज आउन अझैं १५ दिन बाँकी छ, अहिलेदेखि नै तीजको दर खाने निम्ता आउन थालिसक्यो,’ मनमनैं सोचें ।
बुढीलाई सबै कुरा सुनाएँ । उसको पनि विदा परेको रैछ, उत्साहित हुँदै जाने कुरामा सहमति जनाइन् । आखिर ऊ पनि त एक महिला नै हो, तीज नजिकिँदै गरेको अवसरमा कसैले दर खान बोलाउँदा जान मन त उसलाई पनि लाग्छ होला ।
भोलिपल्ट कामबाट फर्किएपछि फ्रेस भयौं र हामी उसकोमा गयौं । त्यहाँको वातावरण, माहोल मैले अरु साथीहरुकोमा तीजको दर खान जाँदा देखेको भन्दा निकै नै भिन्न थियो । आकाश पातालको फरक ।
टेबुलमा दुई तीनवटा ह्विस्कीका बोतल, दुई तीन कार्टुन वियर अनि अर्डर गरेको खाना । केटाहरु हातमा बियर लिएर नाच्दै थिए भने केटीहरु जाडो मौसम भएपनि पूरा शरीर नछोपिने कपडामा सजिएका थिए । टिभीमा गित बज्दै थियो, करिष्मा ढकालको ’के होला बिहेको राती ...?’
हामी पुगेपछि टुक्रुक्क बस्न नपाउँदै साथी आयो र हातमा वियर थमाइदियो, सञ्चो बिसञ्चो पनि सोधेन, नमस्ते गरेको पनि फर्काएन । साथी परिवर्तन भयो कि समय, छुट्याउन निकै गाह्रो भयो मलाई ।
त्यहाँको रमझम देखेपछि मैले आफ्नो विगत सम्झिएँ, तीजकै दिन नजिकैको चौतारीमा एकछिन नाच्न जाने समय पाउन कति धौ धौ हुन्थ्यो हाम्रा आमा दिदी बहिनीहरुलाई ।
बडेमानका घाँसका भारी ल्याएपछि गाइभैसीलाई खुवाउने कुँडो चुल्होमा बसालेर ’तीजको रहर आयो बरिलै’ बोलको गीतमा नाच्न जाने आमाहरु सम्झिएँ । तीजमा दिदी लिन दाइहरु पहाडका बाटा हिँडेर गएका ती दिनहरु मानसपटलमा खेल्न थाले ।
त्यतिबेलाको तीजमा संस्कार झल्कन्थ्यो, पारिवारिक सम्बन्ध देखिन्थ्यो । सानै उमेरमा विहे गरेर पराइका घर गएका छोरीहरु माइत फर्किने र आफ्ना जन्म दिने बाआमासँग र सँगै भाँडाकुटी खेलेका साथीभाइसँग भेटघाट हुने एकमात्र माध्यम थियो तीज ।
अरुबेला एकछाक मात्र आँटो ढिँडो खाएर जिविकोपार्जन गर्नुपर्ने वाध्यताकाबीच एक दिन चामलको भात खान पाइने दिन थियो तीजको दर खाने दिन ।
तर अहिले ?
“धत्तेरी, समय परिवर्तन हुन समय लाग्ने रहेनछ’ म सोच्दासोच्दै साथीले आएर झस्कायो, ओइ कहाँ हराईस, किन टोलाईस ?
म झस्याङ्ग भए । यता उता हेरें, सबै जना आआफ्नै सुरमा नाचिरहेका थिए, कोही भने गफिँदै थिए । गफिनेहरुको भीडमा गएर टुक्रुक्क बसें । यत्तिकैमा एउटाले भन्यो, “विदेशमा भएर पनि हामीले हाम्रो मौलिक सँस्कृतिको जगेर्ना भने गरेका छौं, त्यसमा गर्व लाग्छ मलाई” उ गम्भीर थियो ।
अरु बाँकी सबैले हो मा हो मिलाउँदै गए । “यसरी चाडपर्वको औचित्य र मर्मनै मेटिनेगरी मनाउनुभन्दा त बरु नमनाएकै बेस,” मनमनै भनें ।
यसरी औचित्य मेटिनेगरी मनाएको तीजले सँस्कृति जोगिने भन्दा त समाजमा झन् विकृति फैलिन्छ,” फ्याट्ट भन्न मन थियो, जिब्रोबाट यी शब्दहरु निस्कन सकेनन् ।
जति जति त्यहाँको माहोल तात्दै गयो, मलाई त्यहाँ बाट निस्कन मन लाग्यो । किन हो कुन्नि, त्यो वातावरणमा म भिज्न सकिरहेको थिइन ।
“यत्तिकै पनि फ्याट्ट कसरी निस्कनु, उनीहरुलाई अपमान गरेजस्तो महसुस होला,” मनमा अनेक विचारहरु खेल्न थाले ।
“मलाई त एकदम भोक लागेको छ, अब खाना खाऔं ?” मैले चाँडै निस्कने वहाना बनाएँ ।
रातको १० बजिसकेको थियो । कोही कोही अझै बस्नुपर्छ भनिरहेका थिए भने कोहीले मेरो खाना खाने प्रस्तावमा सहमति जनाए ।
आधा घण्टाको पर्खाइपछि हामी खाना खाएर घरतर्फ निस्क्यौं ।
