पछिल्लो पाँच महिनामा नेपालको रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढ्यो

पछिल्लो पाँच महिनामा नेपालको रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढ्यो
नेपालआईज
३० पुष २०७९ १०:३६


नेपाल । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेको जनाएको छ । राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गर्दै रेमिट्यान्स, विदेशी मुद्राको सञ्चिति, सोधानान्तर स्थिति, व्यापार घाटा र मुद्रास्फितीसमेत सुधारोन्मुख स्थितिमा देखिएको जनाएको हो ।

यसअवधिमा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेको छ भने व्यापार घाटा १८ प्रतिशतभन्दा बढीले घटेको छ । यस्तै, विदेशी मुद्राको सञ्चिति ६.३ प्रतिशतले बढ्दा सोधानान्तर स्थितिमा समेत सुधार आएको छ । यससँगै, समीक्षा अवधिमा विदेशबाट ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

गत वर्षको सोही अवधिमा रेमिट्यान्स ६.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले बढेर ३ अर्ब ७१ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो । पछिल्लो समय वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढेसँगै रेमिट्यान्स आप्रवाह बढेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो समय दैनिक २ हजार ५०० युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका छन् । चालू आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा आर्थिक क्षेत्रका अन्य सूचकहरूमा पनि उत्साहजनक सुधार आएको समेत राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको