अस्ट्रेलिया । रिजर्भ बैँक अफ अस्ट्रेलिया (आरबीए) को बोर्ड बैठकले नगद दरको लक्ष्य २५ आधार बिन्दुले बढाएर ३.८५ प्रतिशत पुर्याउने निर्णय गरेको छ ।
आरबीएले जनाएअनुसार एक्सचेन्ज सेटलमेन्ट ब्यालेन्समा तिर्ने दरलाई पनि २५ आधार बिन्दुले बढाएर ३.७५ प्रतिशत पुर्याइएको छ । आरबीएले विज्ञप्तिमार्फत् अस्ट्रेलियामा मुद्रास्फीति आफ्नो चरम सीमा पार गरिसकेको जनाउँदै ७ प्रतिशत अझै धेरै उच्च रहेको तथा यो लक्ष्यको दायरामा फर्किन अझै केही समय लाग्ने जनाएको छ ।
आरबीएका अनुसार उचित समयसीमाभित्र लक्ष्यमा मुद्रास्फीति फिर्ता गर्ने महत्त्वलाई ध्यानमा राख्दै बोर्डले ब्याज दरमा थप वृद्धि गर्ने निर्णय गरेको हो । हालैको तथ्याङ्कले मुद्रास्फीतिमा स्वागतयोग्य गिरावट देखाएको भएता पनि केन्द्रीय प्रक्षेपणले मुद्रास्फीति लक्ष्य दायराको शीर्षमा फर्किन केही वर्ष लाग्ने देखाएको छ ।
मुद्रास्फीति २०२३ मा साढे चार प्रतिशत तथा २०२५ को मध्यतिर ३ प्रतिशत हुने अपेक्षा गरिएको छ । महामारीपछि आपूर्ति र मागको राम्रो सन्तुलनका कारण वस्तुको मूल्य मुद्रास्फीति स्पष्ट रूपमा सुस्त भएपनि सेवा मूल्य मुद्रास्फीति अझै पनि धेरै उच्च रहेको छ । आरबीएले जनाएअनुसार श्रम लागत पनि तीव्र रूपमा बढ्दै गएको तथा उत्पादकता वृद्धि सुस्त छ।
अस्ट्रेलियाको नयाँ तथ्याङ्कले श्रम बजार कठिन अवस्थामा रहेको तथा बेरोजगारी दर लगभग ५० वर्षकै न्यून रहेको छ । धेरै फर्महरूले कामदारहरू भर्ना गर्न कठिनाइको अनुभव गरिरहन्छन् तर श्रमिक अभावमा केही सहजता आएको छ र रिक्त पदहरूको संख्या अलिकति घटेको बताइएको छ ।