Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
नेपाल फेस्टिभल क्यानबेराले एकसाथ गरायो, २० भन्दा बढी देशका कूटनीतिज्ञलाई नेपाली कला र संस्कृतिको चिनारी !
नेपालआईज
१ फागुन २०७९ ७:०१
छत्र शंकर । क्यानबेरा
अस्ट्रेलियाको राजधानी क्यानबेरामा भएको नेपाल फेस्टिभलमा २० हजारभन्दा बढीले सहभागिता जनाएका छन् । राजधानी क्यानबेरामा पहिलो पटक आयोजना भएको नेपाल फेस्टिभलमा २० हजारभन्दा बढीले सहभागिता जनाएको आयोजक गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया क्यापिटल टेरिटोरीले जनाएको हो ।
नेपाली राजदूतको विदेशी राजदूतहरुलाई ब्रिफिङ् !
विश्वभरिका नियोगका कार्यालयहरू समेत रहेको क्यानबेरामा भएको महोत्सवमा अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश राज पोखरेल सहित विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधिहरूको बाक्लो उपस्थिति देखिन्थ्यो । अस्ट्रेलियामा नेपाल चिनाउने उद्देश्यले आयोजना गरिएको क्यानबेरा, नेपाल महोत्सवबाट नेपाली कला तथा संस्कृति भेसभुसाको बारेमा विश्वभरि नै सन्देश गएको छ ।
फेस्टिभलमा विभिन्न मुलुकका महामहिम राजदूतहरू नेपाली ढाका टोपीमा देखिन्थे । विदेशी कूटनीतिज्ञले नेपाली ढाका टोपी ढल्काउँदा सहभागीहरु निकै खुसी देखिन्थे । महोत्सवमा अतिथिको रूपमा सहभागी विदेशी कूटनीतिज्ञहरूले नेपाल र नेपालीको बारेमा खुलेर प्रशंसा गरेका थिए । उनीहरू भन्दै थिए, ‘अस्ट्रेलियामा नेपाल र नेपाली कला संस्कृतिबारे राम्रो बुझ्न अवसर मिल्यो । ‘
कार्यक्रममा सहभागी विभिन्न देशका राजदूतहरूलाई अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश राज पोखरेलले महोत्सवमा देखिएको नेपाली कला संस्कृति र नेपालको पर्यटनका बारेमा जानकारी गराउँदै “नेपाल हाउस“ लगायतको अवलोकन गराउनु भएको थियो ।
नेपालको विषयमा २० भन्दा बढी देशका राजदूतहरू एकठाँउमा राखेर आफ्नो देशको भेसभुसा, कला संस्कृतिको बारेमा देखाउन र जानकारी गराउन पाउँदा गर्व लागेको राजदूत कैलाश राज पोखरेलले बताउनु भयो ।
किनकी महोत्सवमा क्यानबेरा स्थित २० भन्दाबढी देशका कुटनीतिज्ञहरुको सहभागीता रहेको थियो । सायद अस्ट्रेलियामा नेपालीहरुले गर्ने कार्यक्रमहरुमा यतिधेरै विदेशी कुटनीतिज्ञ सहभागी भएको पहिलो हुनसक्छ ।
महोत्सवमा स्थानीय सरकारका प्रतिनिधिदेखि लिएर संघीय सांसद तथा स्थानीय दलका नेताहरूको पनि उपस्थिति थियो । अझ अस्ट्रेलियामा जन्मे हुर्केका नेपाली मूलका नानीबाबुहरूको साङ्गीतिक प्रस्तुतिले दर्शकको मन तानेको देखिन्थ्यो । कार्यक्रमको सुरुवातमा क्यानबेरामा रहेका विभिन्न सङ्घ संस्था तथा जातजातिका भेसभुसा झल्किने झाँकी र पञ्चेबाजासहितको ¥यालीले सहरका विभिन्न भागको परिक्रमा गरेको थियो ।
साँझ पख नेपालबाट आएका राष्ट्रिय कलाकारहरूको प्रस्तुतिमा क्यानबेराका नेपाली मात्र नभई स्थानीय अस्ट्रेलियनहरूले पनि मनोरञ्जन लिएका थिए ।
महोत्सवमा सहभागी हुन मेलबर्नबाट क्यानबेरा पुगेका गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका पूर्व अध्यक्ष केशव कंडेल भन्नुहुन्छ, ‘दोस्रो पुस्ताका नानीबाबुहरूको प्रस्तुति, कम भाषण र व्यवस्थित कार्यक्रमले महोत्सवको शोभा झनै बढेको देखिन्थ्यो ।’
संयोजक र सचिवले दिए फेस्टिभलमा सहभागीलाई धन्यवाद !
यसैबिच, एनआरएनए अस्ट्रेलिया एसीटीका राज्य संयोजक अशोक बस्नेतले महोत्वसमा सहभागी सबैलाई धन्यवाद दिँदै भने, ‘कार्यक्रममा सक्रिय सहभागिताका लागि उपस्थित सबै, हामीलाई विश्वास गर्नुहुने हाम्रा प्रायोजकहरू र समर्थकहरू, सबै कलाकारहरू, स्थानीय सामुदायिक संस्थाहरू, विशिष्ट व्यक्तिहरू र हाम्रा स्वयंसेवकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।’
त्यस्तै गरी एनआरएनए अस्ट्रेलिया एसिटी सचिव काशी भुसालले सहभागीलाई धन्यवाद दिदै भनेका छन्, ” महोत्सवका विभिन्न उपसमितिहरूका संयोजक, विभिन्न संस्कृतिहरूको प्रदर्शनी गर्ने प्रतिनिधिहरू, नेपाल पाठशालाका भाइ–बहिनीहरू, लोकदोहोरी कलाकारहरू, स्थानीय कलाकारहरू, लाखे नृत्य गर्ने कलाकारहरू र कुमारी यात्राका सबैलाई धन्यवाद ज्ञापन गर्दछु ।
त्यसै गरी सचिव भुसालले , महोत्सवलाई सफल बनाउने अस्ट्रेलियास्थित नेपाली दूतावास परिवार, अस्ट्रेलिया–नेपाल मैत्री समाज, सनातन समाज अस्ट्रेलिया, एफईएनसीएए, गुठी समाज, तमु समाज, इभेन्ट पार्टनर सक्सेस एजुकेसन एन्ड भिसा सर्भिसेज, नेपाल फेस्टिभलका सम्पूर्ण गतिविधि निरन्तर सम्प्रेषण गर्ने मेरो कपुरी, क्यानबेरा टाइम्स, एबीसी टिभी, लन्डन न्युज र सीएमएस रेडियोलाई पनि धन्यवाद दिएका छन् ।