अस्ट्रेलियाका चिडियाघर : पूर्वी गोलार्द्धका वन्यजीवको आश्रय स्थल !

क्लेफिल्ड स्थित निवासबाट उत्तर तर्फ डोर्याउने राजमार्गलाई पछ्याउंदै आउँदा यहॉ आइपुग्न लगभग एक घण्टा लागेछ भने झण्डै ७२ किलोमिटर बाटो पार गरिएछ ।

ब्रिस्वेन सहरको कॉठ छिचोल्ने बितिक्कै सडकका दुबै तर्फ सलक्क परेका पंङ्ति बद्ध हरिया सल्लाका वृक्षहरुले चिसो सामुन्द्रिक हावामा बयली खेल्दै हामीलाई स्वागत गरे झैं लाग्यो।
हवाइउडानबट समुद्रमा हेर्दा कपासको थुप्रा झैं सेता वादल देखिए जस्तै आज नील-गगन रुपी समुन्द्र मुनि गतिशील वादलले सूर्यलाई ढाक्ने प्रयास गरिरहेको छ।एकै क्षणमा सेतो वादलमा कालिमा छाउंछ र वर्षा सुरू भै हाल्छ;अनि सोलीमा घानको ओइरो झर्ने बितिक्कै हस्कर मीलले काम सुरू गरे झैं उइन्डस्क्रिनमा पानीको छिटा पर्ने वितिक्कै हस्याङ्फस्याङ् वाइपरले पुछ्न थाल्छन्।घना जंगललाई चिरेर बनाइएको ६ लेन सडकमा झरना सुसाए झैं सुसाउंदै दौडिरहेका गाडीका अनवरत तांति,अनि निर्माणाधीन सडकको किनारामा मध्यान्नमा अलपत्र पारेर छोडिएका पहेंला बुलडोजर,स्क्याभेटर,लोडर,क्रेन,ट्रकहरु ले जंगली चरा र वन्यजीवहरूको मुटुनै हल्लाइदिएका होलान् जस्तो लाग्छ।यो सडक उनीहरुको लागि वर्लिनको पर्खाल जस्तै भएको छ;बिछोड भएका आफ्ना परिवारका सदस्यको मीलन नभएको वर्षौं भै सकेको छ,भेट्ने असफल प्रयास गर्दा कतिपयले बिच बाटो मै चटनी बन्नु परेको छ।तर पनि बोलि नभएकाहरूको ‘बोलि ‘बोलिदिने अनि तल खसेकाहरुलाई माथि उठाउन सहयोगी हात दिने मान्छेको पनि यो धर्तीमा कमी छैन। अष्ट्रेलिया चिडिया घर(Australia Zoo)यस्तै प्राणीहरुको आफ्नै घर हो। यसका संस्थापक Bob and Lyn Irwin दम्पती हुन्।
खासगरी घस्रनेप्राणी(Reptiles)को संरक्षणमा सोख भएका उनीहरुले सन् १९७० मा ब्रिस्वेनको बरवास(Beerwash)क्षेत्रमा ‘Beerwash Reptiles and Fauna Park ‘स्थापना गरे।उनीहरुको सेख पछि उनका छोरा स्टिभ (Steve)ले आफ्ना माता-पिताले स्थापना गरेको पर्कलाई विकास र विस्तार गर्न पहलकदमी लिए।उनको विवाह टेरी (Terri) संग भयो र दुबै जना ले आफूलाई खतरामा परेका प्राणीहरुको रक्षार्थ समर्पित गर्ने निधो गर्दै उक्त पार्कलाई Australia Zoo पुनर्नामाकरण गरे।दुर्भाग्यवश एक प्रकारको विषालु माछा(Stingray)को टोकाइबाट स्टिभको मृत्यु भएपछि उनकी श्रीमती टेरीले यो चिडिया घरको जिम्मेवारी बहन गरिन्।हाल ७०० एकड जमिनमा फैलिएको यो चिडियाघरमा १२०० प्रजातिका जनावरहरू संरक्षित छन् भने हरेक वर्ष लगभग सात लाख पर्यटकले यो चिड़ियाघरको अवलोकन गर्छन् ।यसको सफलता संगै ख्याति बढ्दै गयो ।फलस्वरूप यसले पटक पटक पर्यटन पुरस्काररू (Tourism Awards)जित्न सफल भएको छ।भैतिक विकासमा फड्को मारिरहेको वर्तमान विश्वमा प्रकृति माथि पक्कै पनि अन्याय भएको छ। त्यसैले दिगो विकासको दृष्टिकोण विकास भएको हो।यस सन्दर्भमा चिड़ियाघरको ठूलो महत्व छ।विहान ११ बजे तिर हामी टिकट काउन्टरमा पुग्यौं,कार्यालय ९ बजे नै खुलिसकेको रहेछ;अलि ढिलो भइएछ।जनावरका क्रियाकलापहरु(Actions) प्रदर्शन गर्ने समय टिकटमा उल्लेख गरिंदो रहेछ।आजको बाघको प्रदर्शनको समय तालिका ९ बजेको रहेछ।हामी छुट्यौं उक्त कार्यक्रमबाट।तर पनि चरा,हात्ती अनि गोहीहरुको क्रियाकलाप प्रदर्शनको समय बॉकि नै थियो।भित्र प्रवेश गर्ने वितिक्कै ४०/५० जना मानिसहरु रुख मुनि चौरमा एकत्रित भएर कुनै तमासा हेरिरहेको दृश्य देखियो।दुईजना कर्मचारीहरू रंगीन सुगालाई आफ्नो निर्देशन अनुसार खेलाउंदै थिए।खेल यति आत्मीय देखिन्थ्यो मानौं उनीहरु एउटै कोखका सन्तान हुन्।
१५/२० मिनेट जमिनमा हिड्ने मानिस र आकासमा उड्ने फिस्टे चरा बिचको लहडी खेल हेरे पछि हामी घिस्रने जीवहरु अवलोकन गर्ने क्षेत्र तर्फ अघि बढ्दा चौरमा निस्फिक्री सयर गरिरहेका कछुवाका मायालु जोडी हाम्रा अगाडी परे।हामीलाई उनिहरुले विजातीय ठानेनन्।बाटो कै छेउमा निकै सप्रेको गोहिको प्रतिमा राखिएको छ।गोहिको आँसु नक्कली हो र उसको सत्कार मुस्कान झन खतरनाक हुन्छ भन्ने गरिन्छ।तर सद्भाव र मायॉको मन्त्रले कहिले काहि विषलाई पनि अमृतमा बदल्न सक्दो रहेछ।मुसा वर्गका प्राणीहरु उनीहरुका लागि तयार गरिएको प्राकृतिक वातावरणमा खुसी देखिन्छन्,त्यहाँका कर्मचारीहरु संग खेलिरहेका छन्।मान्छे र जनावरको बिचमा भ्रातृत्वको विकास भएको छ यस चिडियघरमा।हामी अब विभिन्न प्रजातिका सर्पहरू संरक्षित भवनमा प्रवेश गर्छौं।
अवलोकन गर्न सजिलो होस् भनेर एकातर्फ सीसा जडान गरिएका स-साना वातानुकूलित खोपाहरुमा सर्पहरू उनीहरु कै प्राकृतिक वासस्थान बनाएर राखिएका छन्।प्रत्येक खोपाको पृष्ठभागमा उक्त सर्प पाइने क्षेत्रको तस्वीर टाँसिएको छ भने अग्रभागमा नाम र विशेषता वर्णित लेबल राखिएको छ।यी तस्वीरहरु हेर्दा कसरी आज प्राकृतिक परिदृश्य स्खलित हुंदै छ र किन यी प्राणीहरू सुकुम्बासी बन्दैछन् भन्ने तथ्य बुझ्न कठिनाई पर्दैन।वर्षौ देखि बन्द कोठीमा सुकेको काठको धोत्रो अनि चट्टानको कापमा गुँडुल्किएर बिजुली बत्तीको उज्यालोबाट दैनिक सयौं मानिसहरूलाई नियाली रहेका यी हाम्रा नागदेवताका प्रजातिहरू कत्तिको प्रसन्न होलान् अनुमान लगाउन गाह्रो छ;तर यो धर्तीमा हामी अझै ज्यूँदो छौं भनेर चाहिँ अवश्य गर्व गर्दा हुन्।कोयला राखिएको क्षेत्र तर्फ जाने फलामे जालीदार ढोकामा स्टिभ र कङ्गारूको बच्चा जतनले काखमा लिएकी उनकी पत्नीको तस्वीर सहित एउटा वर्गाकार पोस्टर टाँसिएको छ।यसमा लेखिएको छ-“अष्ट्रेलिया चिडियाघर गर्वकासाथ स्थानीय वन्यजीवको उपभोगको विरुद्ध संघर्ष गर्दछ।खासगरी गोहि,कङ्गारु तथा इमु जस्ता स्थानीय जनावरबाट बनेका उत्पादनहरु खरिद नगरेर हामीलाई साथ दिनुहुन हार्दिक अनुरोध गर्दछौं।

हामी उनिहरुलाई मायाँ गर्छौं र उनिहरुलाई हाम्रो सहयोगको आवश्यकता छ।” जीवप्रेमीहरुका लागि यो अत्यन्त प्रेरक सन्देश हो।कोयला झट्ट हेर्दा भालुको अनुहार परेको जस्तो लाग्छ ,तर यी दुईमा फरक छ।यसलाई खैरो भुवाले ढाक्नुका साथै नवजात शिशुलाई पोथीले आफ्नो थैलो(pouch)मा राखेर हुर्काउँछे।उनीहरुको खोरमा डाले धाँस झुण्ड्याइएको छ खानको लागि;तर खानाभन्दा पनि उसलाई निन्द्रा नै मीठो छ।अर्को रूखको हाँगा माथि पुगेर निदाइरहेको थियो।पर्यटकबाट उनिहरुको निन्द्रा भंग नहोस् भनेर “ म अहिले विश्राममा छु” अंकित वोर्ड उनीहरुको छेउमा राखिएको छ।दिनमा २० घण्टा सम्म सुत्ने यो जीवले पौराणिक कथाका कुम्भकर्णलाई समेत माथ गर्दो रहेछ।कोयला ऑस्ट्रेलियाको एउटा प्रतीक(Icon) पनि हो।अष्ट्रेलियाली जंगलमा हात्ती पाईदैन । तर पनि सन् २००६ देखि १२ एकड जमिनमा उष्णप्रदेशीय बगैंचा निर्माण गरी एशियाली हात्तीको जोडा राखिएको छ।उसको बसाइलाई सहज बनाउन झर्ना सहितको एउटा सानो पोखरी पनि बनाइएको छ।उनीहरुको लागि रूखको सिंयाल,पोखरी ,झर्ना अनि खुला चौर सबै विकल्प खुला छ।हात्तीको लागि बनाइएको यो वासस्थान अष्ट्रेलिया कै सबै भन्दा ठूलो हो।

हात्तीको क्रियाकलाप हेर्न ठूलै भीड उभिएको थियो।खासगरी बालबालिकाहरु यो भीमकाय प्राणि देखेर दंग थिए।आइस-क्रीमले छोपिएको खानेकुराको पोका दुई वटै हात्तीलाई दिइयो।उनीहरुले आ-आफ्नो भाग कुशलता पूर्वक सूंडको सहायताले फुटाएर,खुट्टाले टेकेर खाए।उनीहरुको सुझबुझ र अक्कलको सबै पर्यटकले प्रशंसा गरे।हात्तीपोलो खेलको जननी देशबाट आएका हामीलाई यो प्रस्तुति त्यति नौलो लागेन।
नजिकै पर्खालमा भगवान गणेशको ठूलो मूर्ति राखिएको छ ।उनको शीर किन हात्तीको राखिएको हो र बाहन मूसा किन रहन गयो भन्ने बारेमा रोचक प्रसंग अंकित फ्रेम पनि प्रदर्शन गरिएको छ।बाघ बिनाको चिड़ियाघर अपूर्ण हुन्छ।यहॉ पनि सन् २००६मा इन्डोनेसियाको सुमात्रा टापु र वंगाल पाटे बाघको संरक्षण गर्ने हेतुले टाइगर टेम्पल(Tiger Temple)स्थापना गरिएको रहेछ।यो प्रदर्शनीको वनोट कम्वोडियाको एङ्कर वाट मन्दिर (Angkor Wat Temple) संग मिल्दोजुल्दो भएको बुझियो।यसको ओल्लो भित्ता अवलोकन गर्न सहज होस् भनेर बाक्लो सिसाले बनेको छ भने पल्लो भित्ता चट्टानले।बॉस र झ्याम्म परेका वृक्षहरुले उसलाई तिमी आफ्नै वासस्थानमा छौ भन्ने अनुभूति दिइरहेका छन्।

मजाले सप्रेको पाटे बाघ मध्याह्नको रापले होला फल्याकको खाटमा अलमस्त सुतेको छ।पर्यटकहरु उसको राजसी चाल आफ्नो क्यामरामा गैद गर्न लालायित छन्, तर उसको चालढाल रोम सहरको बादशाहको जस्तै।चिसो हावा चल्छ,बाघ उठेर अगाडीका खुट्टा पसारेर बस्छ,मुस्कुराउँदै सबैले क्लिक गर्छन्।सबैको मनोकाँक्षा पुरा भयो।चरा संरक्षित क्षेत्रमा एउटा अनौठो सुगा प्रजातिको चरा देखिन्छ।हिउँ जस्तै सेतो प्वाँख,पँहेलो सिउर, बल्क्षी जस्तै चुच्चो भएको यो चरालाई सल्फर-क्रेस्टेड ककाटू(Sulphur-crested cockatoo)नामले बोलाइंदो रहेछ।
अष्ट्रेलिया,न्यू गिनी र इन्डोनेसियाका केही टापुका जंगली वासस्थानमा पाइने यो चरा निकै चलाख हुदोरहेछ।यसले मानव लगायत विभिन्न प्राणीहरुको आवाजको नक्कल गर्ने क्षमता राख्दो रहेछ।चरा अवलोकन कै क्रममा सारसको जस्तो लामो घाँटी,बाँसको कप्टेरा जस्तै खुट्टा, नाम मात्रको लिंडे पखेटा अनि खैरो-कालो झाम्टे भुवादार प्वाँख भएको चरा देखियो।इमु(Emu) नामले परिचित यो नउड्ने चरा अष्ट्रेलियामा मात्र पाइंदो रहेछ।अष्ट्रिच पछिको दोस्रो सबै भन्दा अग्लो यो चराको उचाइ लगभग ६ फिट र तौल ५५ किलोग्राम सम्म पुग्दो रहेछ।विश्वकै दोस्रो ठूलो चराको ताज पहिरिएको यो अनौठो प्राणी बौद्धिक स्तरमा भने सबै भन्दा पछिल्लो पंङ्तिमा उभिन पुग्दो रहेछ।

हामी अष्ट्रेलियाको राष्ट्रीय जनावर संरक्षित चौरमा आइपुग्यौं।मान्छेको हात जस्तै देखिने अगाडीका छोटा खुट्टा तर पछाडीका लामा र बलिया खुट्टाको भरमा उभिन र ६० किलोमीटर प्रति घण्टा,८ मिटर लम्बाइ सम्मको फड्को मारेर दौडन सक्ने क्षमता भएका कङ्गारुको बथान हामी पुग्दा आराम कक्षामा रहेछन्।चलचित्रमा देखिए झैं हामीलाई पनि उसको कपास जस्तै नरम भुवादार कान,पिट्यूमा सुमसुम्याउन मन लाग्यो।तर उसका पछाडीका खुट्टा देख्दा गोठमा भोकले पेट बसेको काली गाई दुहुन बस्दा लात्ती हानेर ढुङ्रो सहितै तीन बल्ड्याङ् खाएको याद आयो।पुनरावृत्तिको त्रासले सुमसुम्याउनु त के छुन सम्म पनि सकिएन।केहि अगाडी बढ्यौं,स्थानीय बालबालिकाहरू कङ्गारूसँग खेलौना जस्तै खेलिरहेका रमाइलो दृष्यले हामीलाई बल्ल महसूस भयो हामी प्राणीहरु संगको मित्रवत सम्बन्धमा कति पछाडी छौं।यहां जीवित जन्तु मात्र होइन घस्रने प्राणीका अस्थिपञ्जरहरू पनि संरक्षण गरिएको छ भने कतिपयको प्रतिमा बनाइएको छ।जोखिममा परेका प्राणी संरक्षणमा स्टिभ र टेरीले उठाएका साहसिक कार्यहरुको प्रशंसा गर्दै बिगतमा गरिएका प्रकाशनहरुको प्रदर्शन गरिएको छ।टिकटमा उल्लेखित समयतालिकालाई पछ्याउँदै हामी चरा र गोहिको कृयाकलाप हेर्न एउटा स्टेडियम तर्फ लाग्यौं।

अष्ट्रेलिया चिडियाघरको केन्द्रमा निर्मित सफा पानीको पोखरी सहितको यो रङ्गशाला मा लगभग पाँच हजार दर्शकहरू एकै पटक बसेर अवलोकन गर्न सक्छन्।यो रङ्गशालाको नाम Mount Franklin Crocodeum राखिएको छ।हरित- खैरो रङ्गका शरीरमा टपक्क मिलेका सर्ट-प्यान्टमा सजिएका अत्यन्त फर्तिला महिला र पुरूष कर्मचारीहरुले मैदान र पोखरीको आम्नेसाम्ने बसेर चराहरुको अनौठा प्रस्तुति अभिरुचि पूर्वक अवलोकन गरिरहेका दर्शकहरुलाई समूहगत रूपमा सहभागि गराउँदै खुब हसाए।कर्मचारीको इसारामा उनीहरुले फोहर पदार्थहरु तोकिएको भाँडोमा लगेर खसाल्थे।यसको लागि उनीहरुले इनाम प्रविधि(Reward technique) अपनाएको देखियो।चराहरुको अनौठो प्रतुति देखेपछि हजारौं मानिसहरुले निकै उच्च स्वरमा “Crikey” भन्दा रहेछन्।यो स्टिभ इरविनले आफ्नो टेलिभिजन प्रस्तुतिमा आश्चर्य व्यक्त गर्दा अत्यधिक प्रयोग गर्ने अभिव्यक्ति रहेछ।
एकजना कर्मचारीले हातमा आहारा देखाउंदै बन्द कोठाबाट गोहिलाई बाहिर निकाल्छन्।यी गोहिहरु उत्तरी अष्ट्रेलियाको नुनिलो पानीको सामुन्द्रिक भङ्गाला(Coasts)हरुमा ठूलो संख्यामा बस्छन्।उक्त गोहिले आहाराको लोभमा कर्मचारीका सबै निर्देशनहरु पालन गर्छ।गोहिहरु घमिलो पानिमा आफूलाई छिपाउँदै कसरी आफ्नो सिकार मुखमा पार्न सफल हुन्छन् भन्ने जानकारी दर्शकलाई दिनको लागि सफा कञ्चन पानी यस पोखरीमा राखिएको छ।स्टेडियमको सीटबाट गोहिको चाल प्रष्ट देखिन्छ।अफ्रिका प्रदर्शनको नजिकै बिन्दि टापु(Bindi’s Island)बनाइएको छ।

सन् २०१४ मा उद्घाटन गरिएको यो सुन्दर टापुको नाम स्टिभकी छोरीको नामबाट राखिएको रहेछ।यस टापुले हिन्द महासागर स्थित दक्षिणी अफ्रिकी तटमा रहेको म्याडग्यास्कर(Madagaskar) टापुको प्रतिनिधित्व गरेको छ।यहॉ अफ्रिकी जनावरहरु जस्तै कछुवा,ढेढु(Lemurs) तथा तिनका प्रजातिहरू संरक्षण गरिएको छ।उक्त स्थानमा एउटा नक्कली खनायोको रुख(Fig tree)मा तीनतले ‘ट्री हाउस ‘निर्माण गरिएको छ।त्यस टावरबाट चिडियाघरको र टापुका सुन्दर दृश्यहरु देखिन्छन्।उक्त टापुबाट निस्केर हामी अफ्रिकन सफारी प्रदर्शन(Exhibit)तिर लाग्यौं।

सन् २०११ मा खोलिएको यो क्षेत्रमा पुग्दा अफ्रिकाको जंगली घाँसे मैदानमा पुगेको अनुभूति भयो। त्यहाँ निर्मित कृत्रिम थुम्काथुम्कीले दक्षिणी अफ्रिकाको चट्टानी पहाडहरु र रोपिएका बोटल ट्री(Bottle tree)ले छाता जस्तो देखिने अफ्रिकी रुख बेअवाव (Baobab tree)को झल्को दिइरहेका थिए भने हरियो चौरमा चरिरहेका बहुप्रजातिका वन्यजन्तुहरु जस्तै दुई सिंगे गैंडा, जेब्राहरु र अग्लो खम्बामा झुण्याइएको डालेघाँस तानिरहेका जिराफहरूले जंगली पर्यावरणीय व्यवस्थापनको प्रतिनिधित्व गरिरहेका छन्।वन्यजीवका प्रजाति अनुसारका क्रियाकलापहरू जस्तै , घिस्रने,पौडने,हम्फाल्ने,उड्ने,संकेतको प्रयोगबाट स्वजातीय कुराकानी(Communication) गर्ने ,तालिम अनुसारको व्यवहारको अवलोकन गर्दै हिड्दा ६ घण्टा बितेको पत्तै भएन।
हाल अस्ट्रेलिया भ्रमणमा रहेका यस फिचरका लेखक,अर्याल ब्रह्मदेव टोल विकास संस्था, भरतपुर-६ का अध्यक्ष र सेवा निवृत्त अंग्रेजी भाषाका शिक्षक हुन् ।
