अस्ट्रेलिया । रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) को बोर्ड बैठकले नगद दरको लक्ष्य ३ दशमलव ६० प्रतिशत र एक्सचेन्ज सेटलमेन्ट ब्यालेन्सको ब्याजदर ३ दशमलव ५० प्रतिशतमा यथावत राख्ने निर्णय गरेको छ ।
गत वर्ष मे देखि साढे तीन प्रतिशत बिन्दुको ब्याज दरमा भएको वृद्धिपछि आरबीएको यो निर्णय आएको हो । ब्याजदरमा भएको यो उल्लेखनीय वृद्धिको पूर्ण प्रभाव अझै महसुस हुन बाँकी रहेको बोर्डले जनाएको छ ।
बोर्डले हालसम्मको ब्याजदरमा भएको वृद्धिले पारेको असर र अर्थतन्त्रमा परेको असर मूल्याङ्कन गर्न थप समय उपलब्ध गराउन यसै महिना ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । आरबीएले अस्ट्रेलियाको बैंकिङ प्रणाली बलियो, राम्रो पुँजीकृत र अत्यधिक तरल रहेको तथा अर्थतन्त्रलाई आवश्यक पर्ने ऋण उपलब्ध गराउन सक्षम रहेकोसमेत जनाएको छ ।
मासिक सीपीआई सूचकसहितले अस्ट्रेलियाको मुद्रास्फीति चरम सीमामा पुगेको सुझाव दिएको छ । साथै देशका धेरै भागहरूमा घरजग्गाको भाडादरमा पछिल्ला वर्षहरूमा छिटो दरले बढिरहेको जनाइएको छ । उपयोगी बस्तुहरूको मूल्यमा पनि द्रुत रूपमा वृद्धि भइरहेको छ ।
तर केन्द्रीय प्रक्षेपणले २०२५ को मध्यमा ३ प्रतिशतको हाराहारीमा मुद्रास्फीति घट्ने छ । यता अस्ट्रेलियाको बेरोजगार दर ५० वर्षपछिकै न्यून रहेको तथा बेरोजगारी पनि कम रहेको आरबीएले जनाएको छ । जसका कारण धेरै फर्महरूले कामदारहरू भर्ना गर्न कठिनाइको अनुभव गरिरहेका छन् । आर्थिक वृद्धि सुस्त हुँदा बेरोजगारी बढ्ने अनुमान गरिएको छ ।