Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
डार्विनको नेपाल फेस्टिभलमा नेपालीसँगै रमाए अस्ट्रेलिनहरूः राजदूत पोखरेलले भने जीवनमा एक पटक नेपाल भ्रमण गर्नुहोस् !
नेपालआईज
२७ जेठ २०८० २२:५४
छत्र शंकर
डार्विन । अस्ट्रेलियाको डार्विनमा भव्यताका नेपाल फेस्टिभल मनाइएको छ । एनआरएनए अस्ट्रेलिया नदर्न टेरिटोरीको आयोजनमा डार्विनको मुख्य पर्यटकीयस्थल वाटरफ्रन्ट पार्कमा नेपाल कला संस्कृति झल्किने र्यालीबाट सुरु भएको फेस्टिभलमा सांस्कृतिक परेड पनि गरिएको थियो ।
महोत्सवमा १० हजारभन्दा बढी मानिसहरू सहभागी भएको आयोजकले जनाएको छ । महोत्सवस्थल पुग्दा नेपाल पुगेझैँ लागेको आगन्तुकहरूले प्रतिक्रिया दिएका थिए । नेपाली कला तथा संस्कृतिले भरिभराउ रहेको वाटरफ्रन्टमा मेचीदेखि महाकालीको नेपाली संस्कृति झल्किएको थियो ।
त्यति मात्र होइन वीर गोर्खालीको गाथा समेटिएको गोर्खा हाउसदेखि बुद्धको प्रतिमा, धरहरा, स्वयम्भू र सगरमाथा डार्विनको वाटर फ्रन्टपार्कमा देखिन्थे । यस्ता दृश्यले नेपालीलाई मात्र नभए डार्विनका स्थानीयवासीलाई पनि लोभ्याइरहेको थियो ।
उनीहरूले नेपालको संस्कृति बुझ्न गोर्खा हाउसको भ्रमण गरिरहेका थिए । अस्ट्रेलियनहरूलाई आकर्षण गर्ने उद्देश्यले सजावट गरिएको कार्यक्रमस्थलमा नेपालका ग्रामिण क्षेत्रका चुल्होदेखि नेपाली विवाहको बारेमा जानकारी दिन परम्परागत जग्गेसमेत बनाइएको थियो ।
महोत्सवमा नेपाली सांस्कृतिक तथा नेपाली परम्परागत भोजनका स्टलहरू पनि राखिएका थिए । एनआरएनए नदर्न टेरिटोरीका संयोजक विष्णु चापागाईँले महोत्सवमा करिब १५ हजारको सहभागिता रहेको जानकारी दिए ।
महोत्सवका लागि यहाँको सरकारले तीन वर्षका लागि ९३ हजार डलर प्रदान गर्दै आइरहेको छ । फेस्टिभलको तयारी तीन महिना अघिदेखि नै भएको कार्यक्रमका संयोजक सञ्जीव गोर्खालीले जानकारी दिए ।
फेस्टिभलमा यहाँका मुख्यमन्त्री, मेयर, अस्ट्रेलियास्थित नेपाली राजदूत कैलाशराज पोखरेलले सम्बोधन गरेका थिए । अस्ट्रेलियाका लागि नेपाली राजदूत पोखरेलले आफूलाई महोत्सवस्थल मिनी नेपाल जस्तै लागेको बताए । उनले नेपाल प्राकृतिक तथा सांस्कृतिक विविधताले भरिपूणर् र सुन्दर देश रहेको बताउँदै हरेक अस्ट्रेलियनहरूलाई जीवनमा एक पटक नेपालको भ्रमण गर्न आग्रह गरेका थिए ।
महोत्सवमा नदर्न टेरिटोरीकी मुख्यमन्त्री नताशा फाइल्सले नदर्न टेरिटोरीको आर्थिक विकासमा नेपालीहरूको ठूलो योगदान भएको भन्दै प्रशंसा गरेकी थिइन् । नदर्न टेरिटरी बहुसांस्कृतिक सामाज भएको भन्दै यहाँ एक-अर्काको कला तथा संस्कृतिको सम्मान हुने बताइन् ।
नेपाल महोत्सवलाई राज्य सरकारले दिने सहयोगलाई निरन्तरता दिने पनि उनले प्रतिबद्धता व्यक्त गरिन् । महोत्सवमा स्थानीय तीन वटा ब्यान्डले सांगीतिक प्रस्तुति दिएका थिए । त्यस्तै, चर्चित कलाकार प्रकाश सपुतले पनि दर्शकलाई मनोरञ्जन गराएका थिए ।